सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी स्थित केजी अस्पतालद्वारा बाढी पिडितका लागि १२ लाख भन्दा बढी सहयाेग

२०८३ भदौ १८, ०७:१० खबर संवाददाता

धनगढी: धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुनःस्थापनाका लागि सहयोग गरेको छ।

अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख २ हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, खाद्यान्न वितरण, आपत्कालीन चिकित्सा सेवा र दीर्घकालीन पुनःस्थापनाका कार्यहरूमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रा. लि. का सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताए।

अस्पतालको भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ र कर्मचारीका तर्फबाट ५१ हजार १११ रुपैयाँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए।

पीडामा रहेका नागरिकप्रतिको दायित्वलाई आत्मसात् गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ।

'बाढीका कारण आफन्त गुमाउनुभएका र बेपत्ता परिवारको पर्खाइमा छटपटाइरहनुभएका नागरिकको पीडाप्रति हामी स्तब्ध छौँ,' सहायक प्रबन्ध निर्देशक अवस्थीले भने, 'मानव जीवनको रक्षा र उपचार गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। यस विपद्को घडीमा समाजलाई आडभरोसा दिनु आफ्नो कर्तव्य ठानेर हामीले सात दिनको कलेक्सन र हाम्रा कर्मचारी साथीहरूको स्वेच्छिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेका हौँ।'

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले थोरै भए पनि पीडितको घाउमा मलम लगाउने विश्वास लिएको उनले बताए। यसका साथै सरोकारवाला निकायसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक स्वास्थ्य सेवा पुर्‍याउन आफ्ना स्वयंसेवक स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने तयारी रहेको पनि अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस