विपतको जोखिम अध्ययन गरेर नीति निर्माण गर्छाैँः मुख्यमन्त्री भट्ट
डडेलधुराः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा हालसम्म भएका जोखिमको अध्ययन गरेर नीति निर्माण गरिने बताएका छन्। मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डडेलधुरा पुगेका मुख्यमन्त्री भट्टले बुधबार बिहान नेपाल पत्रकार महासङ्घ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
उनले भने, “नदी किनारमा बसेका अत्यन्त जोखिमपूर्ण बस्ती कहाँ कहाँ छन् । यसको अभिलेख निकाल्नु जरुरी छ । सुदूरपश्चिमले हालसम्म के कस्ता प्राकृतिक विपत् भोग्नु पर्यो त्यसको तथ्याङ्कको समीक्षा पनि आवश्यक छ । त्यसैका आधारमा भविष्यका लागि सबै पक्ष पूर्वतयारीमा लाग्नु पर्छ । पूर्वतयारीमा सुरक्षा निकायलाई सरकारले गर्नुपर्ने न्यूनतम व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने छ ।”
रसुवा बाढीले ठुलो क्षति गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यो विपत्तिमा सुदूरपश्चिमले पनि दक्ष जनशक्तिसँगै थुप्रै होनहार युवा गुमाएको बताए। उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यको १५ दिनको तलब भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।
उनले भने, “सुरक्षा निकायले स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको छ । आवश्यकताका आधारमा परिचालन गरिने छ । हालको भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाका लागि आवश्यक राहत उपलब्ध गराइने छ । सम्पर्कविहीन भएका परिवारका सदस्यका लागि प्रभावित क्षेत्रमा आउजाउ गर्न यातायातको प्रबन्धसमेत गर्न लागेका छौँ ।”