भाेटेकाेशी बाढीमा वेपत्ता आफन्तको खबर नआएपछि कैलालीबाट खोजीमा निस्किए परिवारका सदस्य
टीकापुर: भोटेकोशीमा आएको बाढीमा आफन्त बेपत्ता भएको हप्ता दिनसम्म कुनै खबर नपाएका कैलालीकाे टिकापुरका मानिस आफन्त खोज्न भन्दै काठमाडौँतिर हिँड्न थालेका छन् ।
जानकी गाउँपालिकाबाट हराएका चार जनाको खोजीमा हरेक परिवारबाट दुई जना र एक जना बरघर (गाउँका अगुवा) गरी नौ जनाको टोली काठमाडौँ हिँडेको छ । आफन्त बेखरको पीडाले छट्पटिएका परिवारका सदस्यले खोज्न निस्कन्छु भनेपछि एक हप्ताको खाना र यातायातको व्यवस्था गरेर पठाएको गाउँपालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले भने, “एक हप्ताका लागि गाडी खोजेर पठाएका छौँ, खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । उहाँहरू फर्केपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्ने छौँ ।” मङ्गलबार यहाँबाट हिँडेको टोली बुधबार बेलुका काठमाडौँ पुगेको बरघर रामकृष्णी चौधरीले बताए।
टीकापुर नगरपालिका–१, समितिपुरबाट आफन्त खोज्न गएका बरघर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसिरहेका छन्। उनले भने, “रसुवा जाने बाटो छैन बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौं । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर सुन्ने कोठा फर्केर बस्ने काम भइरहेको छ ।” दाजु मानबहादुर रसुवामा हराएपछि अखिल र छिमेकी विखराम चौधरी त्यता गएका हुन्। टीकापुर नगरपालिका–१, एकतापुरबाट तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाई, धना चौधरी काठमाडौँ पुगेर नुवाकोटतिर गएका रसुवामा सम्पर्कविहीन भएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले बताइन्।
टीकापुर नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जान चाहनेलाई यातायात खर्च बेहोर्ने निर्णय गरेको छ । नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने भन्दै आफन्त सम्पर्कविहीन भएकाले मङ्गलबार टीकापुर नगरपालिका पुगेरै अनुरोध गरेका थिए । टीकापुर नगरपालिकाको समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर, ज्योतिनगरलगायतका क्षेत्रबाट ३४ जनाभन्दा बढी कामदार कर्मचारी सम्पर्कविहीन छन् ।
सहयोग सङ्कलन जारी
बाढी प्रभावितको सहयोगका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । यहाँका १२ वटा टोल विकास संस्थाले मिलेर एक लाख ३२ हजार ५२५ रुपियाँ, ओमकृष्ण अस्पतालले दुई लाख ११ हजार १११ रुपियाँ, टीकापुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक लाख ५१ हजार १११ रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । यस्तै विभिन्न सङ्घ, संस्था र समूहले पनि राहत सङ्कलन गरी कोषमा जम्मा गरिरहेका छन् ।
कैलालीका विभिन्न स्थानीय तहले पनि भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाको तर्फबाट राहत कोषमा पाँच लाख ५१ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता मिथुन गौतमले जानकारी दिए।
यस्तै बाढीमा परेका गाउँपालिकाका नागरिकलाई जनही एक लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका पनि बताए। बाढीमा परी हालसम्म बर्दगोरिया गाउँपालिकाका दुई जना नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने अन्यको खोजी कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।
त्यसै गरी लम्कीचुहा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ जम्मा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।