ग्यास अभावले धनगढीको केन्द्रितकृत भान्सा घरमा दिवा खाजा तयार भएन
धनगढीः ग्यास अभावले धनगढी उपमहानगरपालिकाको केन्द्रिकृत भान्सा घरमा खाजा तयार गर्न समस्या भएको छ। ग्यासकै अभावले बिहीवार भान्सा घरका खाजा नबनेको धनगढी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बजारमा ग्यास नपाउँदा धनगढीका सामुदायिक विद्यालयका बालबालिकालाई बिहीवार खाजा तयार गरेर उपलब्ध गराउन नसकिएको बताए।
धनगढी उपमहानगरपालिकाको केन्द्रिकृत भान्सा घरबाट बजार क्षेत्रका सामुदायिक विद्यालयका करिब तीन हजार एक सय बालबालिकालाई दिवा खाजा उपलब्ध गराइँदै आएको छ। बिहीवार ग्यास नहुँदा खाजा तयार गरेर विद्यालयहरूमा उपलब्ध गराउन नसकिएको भान्सा घरका गुणस्तर नियन्त्रक अधिकृत शेखर जोशीले बताए। उनका अनुसार खाजा तयार गर्न एकै चोटी पाँच वटा सिलिन्डर आवश्यक पर्ने तर आफूहरूसँग दुई सिलिन्डर मात्रै बाँकी रहेकाले खाजा तयार गर्न नसकिएको बताए।
जोशीका अनुसार बुधवार नै ग्यास सकिए पनि सप्लायर्सबाट ग्यास उपलब्ध नहुँदा बिहीवारको खाजा तयार गर्न नसकिएको हो। भेन्डरबाट बिहीवार १० बजे मात्रै तीन सिलिन्डर ग्यास मिलेकाले खाजा तयार गर्न कम्तसमा पाँच घण्टा समय लाग्ने भएकाले बिहीवार खाजा तयार नभएको हो।
भान्सा घरबाट विद्यालयहरुमा १२ बजेभित्रै खाजा पुगाउनुपर्ने भएकाले यो पटक खाजा तयार गर्न नसकिएको तर आगामी दिनमा ग्यासको अभाव हुन नदिने गरी व्यवस्था मिलाइने जोशीले बताए।