बाढीपीडितको उद्धार तथा राहतका लागि सुजङ स्कुलद्वारा २ लाख २२ हजार सहयोग
डोटीः रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डोटीको सुजङ इङ्लिस स्कुलले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीले आफ्नो एक महिनाको तलबबाट तीन दिन बराबरको ८९ हजार ९ सय ६९ रुपैयाँ, विद्यार्थीहरूले खाजाबाट बचाएको ३९ हजार ५० रुपैयाँ, विद्यालयमा गठित जुनियर रेडक्रस कोषबाट १८ हजार २ सय ३ रुपैयाँ र विद्यालयको तर्फबाट ७५ हजार रुपैयाँ गरी उक्त रकम संकलन गरिएको विद्यालयका निर्देशक नरेश बलायरले बताए।
विद्यालयले संकलन गरेको रकम बाढीपीडितको उद्धार तथा राहतका लागि डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण गरेको हो।
रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले देश विपत्तिमा परेका बेला सबैले आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको बताइन्। विपद्को यस घडीमा सुजङ स्कुल परिवारले गरेको सहयोगले बाढी प्रभावितको उद्धार तथा राहतमा योगदान पुग्ने उनले बताइन्।