कैलाली मोडल मा.वि. द्वारा बाढी पीडितलाई १ लाख ५ हजार सहयोग
धनगढी: कैलाली मोडल माध्यमिक विद्यालय परिवारले भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बाढीपीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ५ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।
विद्यालय प्रशासनद्वारा जारी समवेदना पत्र अनुसार भोटेकोशी र त्रिशुली नदीको बाढीले पुर्याएको अकल्पनीय क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। देश-विदेशबाट भइरहेको राहत सहयोगले मानवता अझै जीवितै रहेको पुष्टि गरेको भन्दै विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको जनाएको छ।
साथै, कैलाली मोडल मा.वि. परिवारले बाढीमा परी घाइते भएका सबै व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बाढीका कारण अकालमा ज्यान गुमाउने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाहरूको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै विद्यालयले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।