बैतडीको श्रीकोट स्वास्थ्यचौकीको प्रयोगशाला सारिएपछि स्थानीय आन्दोलित, पुनःस्थापनाको माग
बैतडीः दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा सञ्चालन हुँदै आएको प्रयोगशाला सेवा बन्द गरेर अन्यत्र सारिएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्। गाउँपालिकाले वडा नम्बर ६ स्थित सित्तडमा निर्माण गरिएको १० शय्याको अस्पतालबाट प्रयोगशाला सेवा सञ्चालन गर्ने भन्दै गत असारमा श्रीकोट स्वास्थ्यचौकीका प्रयोगशालाका सामग्री सारेको हो।
तर, आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हालसम्म सेवा सञ्चालनमा आउन सकेको छैन। प्रयोगशालाका सामग्रीसमेत अस्पताल परिसरमा थन्क्याएर राखिएको स्थानीयको भनाइ छ।
श्रीकोट स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सञ्चालन हुँदा दोगडाकेदार गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा दशरथचन्द नगरपालिका–१ का नागरिकले समेत सेवा लिँदै आएका थिए। सेवा बन्द भएपछि यी क्षेत्रका नागरिक सामान्य स्वास्थ्य परीक्षणका लागि समेत अन्यत्र जानुपर्ने बाध्यतामा रहेको स्थानीयले बताएका छन्।
पुनःस्थापनाको माग, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
स्थानीयवासीले वैकल्पिक व्यवस्था नगरी प्रयोगशाला सेवा बन्द गरिएको भन्दै पुनःस्थापनाको माग गरेका छन्। स्थानीय बलराज भट्टले स्वास्थ्यचौकीको सेवा कटौती गरेर आधारभूत अस्पतालमा सार्नु अघि वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।
'वैकल्पिक व्यवस्था नगरी प्रयोगशाला सेवा कटौती गरेकोमा हाम्रो विरोध हो। सारिएको प्रयोगशाला पुनःस्थापना गर्नुपर्छ, अन्यथा थप आन्दोलनका कार्यक्रम गर्छौं,' उनले भने।
श्रीकोट स्वास्थ्यचौकीमा २०७५ सालदेखि प्रयोगशाला सेवा सञ्चालन हुँदै आएको थियो। आधारभूत अस्पताल सञ्चालन गर्ने नाममा स्वास्थ्यचौकीबाट वर्षौंदेखि सञ्चालनमा रहेका सेवा हटाउनु उपयुक्त नभएको स्थानीयको भनाइ छ।
प्रयोगशाला सेवा बन्द भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि समेत जिल्ला अस्पताल पुग्नुपर्ने अवस्था आएको स्थानीय गणेश विष्टले बताए। उनका अनुसार गाउँमा भाइरल ज्वरो फैलिएको अवस्थामा समेत ल्याब परीक्षणका लागि सदरमुकाम जानुपर्ने बाध्यता छ।
गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गर्दा आवश्यक पर्ने ब्लड ग्रुप र हेमोग्लोबिन परीक्षणका लागि समेत सदरमुकाम पुग्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
श्रीकोट स्वास्थ्यचौकीबाट प्रयोगशालासँगै आँखा उपचार केन्द्रसमेत सारिएको भन्दै स्थानीयले गाउँपालिकाले सुटुक्क निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
जिल्ला प्रशासनमा निवेदन
प्रयोगशाला सेवा बन्द गरी अन्यत्र सारिएपछि स्थानीयवासीले पुनःस्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिएका छन्।
निवेदनमा गाउँपालिकाले स्थानीय नागरिकको स्वास्थ्य सेवाप्रति गम्भीरता नदेखाएको आरोप लगाइएको छ। स्थानीयलाई जानकारी नदिई प्रयोगशाला सारिएको र यस विषयमा पालिकासँग बुझ्न खोज्दा समेत सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
असोजदेखि आधारभूत अस्पतालबाट सेवा दिइने गाउँपालिकाको दाबी
दोगडाकेदार गाउँपालिकाले असोज १ गतेदेखि आधारभूत अस्पतालबाट सबै किसिमको सेवा प्रदान गर्ने तयारी भइरहेको जानकारी दिएको छ। गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले पालिकाले आफ्नै स्रोतबाट सञ्चालन गरेको प्रयोगशालामा कार्यरत कर्मचारीले काम छोडेपछि प्रयोगशाला बन्द गर्नु परेको बताए।
उनका अनुसार दोगडाकेदार गाउँपालिकाले वडा नम्बर ६ सित्तडमा निर्माण गरिएको आधारभूत अस्पताल सञ्चालनका लागि जनशक्ति तथा आवश्यक उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढाइएकाले प्रयोगशाला सेवा पनि अस्पतालबाटै सञ्चालन हुनेछ। अस्पताल सञ्चालनमा ल्याउनका लागि २२ जनाको ओएण्डएम स्वीकृत गरेर कर्मचारी छनोटको काम भइरहेको छ। प्रवक्ता भट्टले प्रयोगशाला परीक्षणको नतिजा चिकित्सकले नै हेर्ने भएकाले आधारभूत अस्पतालबाटै प्रभावकारी सेवा दिन सकिने ठानेर गाउँपालिकाले प्रयोगशाला सेवा पनि उतै सञ्चालन गर्ने बताए।
यता, स्थानीयवासीले भने सबै सेवाग्राहीका लागि सित्तडमा रहेको आधारभूत अस्पताल पुग्नुभन्दा जिल्ला अस्पताल पुग्न सहज हुने अवस्था रहेको दाबी गरेका छन्। स्थानीयको आवश्यकता र पहुँचको पर्याप्त अध्ययन नगरी अस्पताल निर्माण गरिएको उनीहरूले बताएका छन्।