सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढी: कञ्चनपुरका ३० जना अझै सम्पर्कविहीन, दुईको उपचार हुँदै

२०८३ भदौ १३, ०२:१० खबर संवाददाता

धनगढीः रसुवामा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका कञ्चनपुरका ३९ जनामध्ये ३० जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएको हो।

प्रशासनका अनुसार बाढीपछि सम्पर्कविहीन भएका ३९ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने २ जना उपचाररत छन्। सम्पर्कमा आउनेमा शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३४ वर्षीय सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ भगवती टोलकी ३४ वर्षीया चन्दा जोशी, बेलडाँडी गाउँपालिका–३ कमरीका २५ वर्षीय अजय राना, सुरेश राना र सन्तोष राना रहेका छन्।

त्यस्तै, बेलौरी नगरपालिका–३ का २२ वर्षीय नवीन चौधरी र आदर्श चौधरी पनि सम्पर्कमा आएका छन्।

प्रशासनका अनुसार ठेगाना नखुलेका कञ्चनपुरका २७ वर्षीय राजेन्द्र भट्ट रसुवा अस्पतालबाट रेफर भएका छन् भने ३२ वर्षीय प्रदीप चन्दको रसुवा अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझसम्म रसुवा अस्पतालमा उपचार गरिएका बाढी प्रभावित घाइते तथा बिरामीहरूको विवरण सार्वजनिक गरेको थियो। उक्त विवरणमा राजेन्द्र भट्टको स्वास्थ्य अवस्था गम्भीर र प्रदीप चन्दको अवस्था सामान्य रहेको उल्लेख छ।

सम्पर्कविहीनको सूचीमा कञ्चनपुर घर भएका तीन जना नेपाली सेना पनि रहेका छन्। भीमदत्त नगरपालिका–८ तिलाचौरका ३५ वर्षीय जवान श्याम पन्त, कृष्णपुर नगरपालिका–५ का लेस नायक रमेशराज जोशी र कृष्णपुर नगरपालिका–४ का हिक्मतबहादुर पाल सम्पर्कविहीन छन्।

यसैगरी, अन्य जिल्ला तथा भारतका नागरिक गरी थप ६ जना पनि सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्पर्कविहीन हुनेमा डडेल्धुराको गन्यापधुरा–१ का २८ वर्षीय सुरजबहादुर महता, बैतडीको सिगास गाउँपालिका–७ का २२ वर्षीय लक्ष्मण ऐर, डिलाशैनी गाउँपालिका–७ का ३८ वर्षीय वीरेन्द्र धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का ५० वर्षीय पदमराज जोशी, बर्दियाको रम्भापुर गाउँपालिका–ढोडियाका ४० वर्षीय बुद्धिराम चौधरी र भारतीय नागरिक ४५ वर्षीय भवानीदत्त विष्ट रहेका छन्।

प्रशासनले सम्पर्कविहीनहरूको खोजी तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस