भारतमा स्वाइन फ्लुको संक्रमण बढ्यो, दिल्लीमा आठ गुणाले वृद्धि
नयाँ दिल्ली: भारतका दिल्लीसहित विभिन्न राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ संक्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता बढाएका छन्। उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाबलगायत राज्यले स्वास्थ्यसम्बन्धी परामर्श जारी गर्दै अस्पताललाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
दिल्लीमा अगस्ट २० सम्म इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ संक्रमित भेटिएका छन्। तीमध्ये १ हजार ७ सय ७७ जनामा एच१एन१ संक्रमण पुष्टि भएको छ। गत वर्ष यही अवधिमा एच१एन१ का २ सय २९ संक्रमित मात्र भेटिएकाले यस वर्ष संक्रमण करिब आठ गुणाले बढेको देखिन्छ। अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ एच१एन१ संक्रमित थपिएका थिए।
दिल्लीमा एच३ का १ सय ३८ र एच१ का ३७ संक्रमितसमेत पुष्टि भएका छन्। उत्तर प्रदेशमा ३ सय ३७, हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जना स्वाइन फ्लु संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा अगस्ट २० सम्म पुष्टि भएका संक्रमितमध्ये अधिकांश राष्ट्रिय राजधानी क्षेत्र आसपासका रहेको जनाइएको छ। मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरका ११ संक्रमित उपचाररत छन्।
महाराष्ट्रको मुम्बईमा पनि अगस्ट १५ सम्म एच१एन१ का ३ सय ९ संक्रमित भेटिएका छन्। गत वर्ष सोही अवधिमा ७२ जना मात्र संक्रमित भएकामा यस वर्ष संख्या चार गुणाभन्दा बढी पुगेको छ। छत्तीसगढमा समेत एक संक्रमित पुष्टि भएको छ।
नयाँ भेरियन्ट होइन: आईसीएमआर
संक्रमण बढे पनि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले हाल फैलिरहेको एच१एन१ कुनै नयाँ भेरियन्ट नभएको स्पष्ट पारेको छ। परिषद्का अनुसार भारतमा अहिले फैलिरहेको एच१एन१ भाइरस सन् २०२५ देखि नै देखिँदै आएको हो र नियमित निगरानीमा छ। हालका भाइरसहरू उत्तरी गोलार्धका लागि सिफारिस गरिएको इन्फ्लुएन्जा खोपका स्ट्रेनसँग पनि मेल खाने आईसीएमआरले जनाएको छ।
संक्रमण बढेपछि केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले दिल्लीको अवस्थाबारे समीक्षा गरेका छन्। समीक्षा क्रममा इन्फ्लुएन्जाको निगरानी, परीक्षणको दायरा विस्तार, अस्पतालको तयारी तथा संक्रमितलाई समयमै उपचार उपलब्ध गराउने विषयमा जोड दिइएको छ। दिल्लीका स्वास्थ्य अधिकारीहरूले अस्पतालमा शय्या, चिकित्सक, औषधि तथा आवश्यक उपकरणको अभाव नरहेको बताएका छन्।
स्वास्थ्य विज्ञहरूले संक्रमण बढे पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। मौसमी इन्फ्लुएन्जा भएकाले विशेषगरी उच्च जोखिममा रहेका व्यक्तिले सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ। रुघाखोकी, ज्वरो वा अन्य लक्षण देखिएमा आवश्यक सावधानी अपनाउने, भीडभाडबाट जोगिने तथा अवस्था गम्भीर भए स्वास्थ्यकर्मीको सल्लाह लिन विज्ञहरूले आग्रह गरेका छन्।