सुधार केन्द्रबाट फर्किएका बुवाको छोराले गरे भव्य स्वागत
धनगढी: डोटीको सायल गाउँपालिका–५ मतेलीका समाजसेवी पदम नागरीलाई उनका छोरा कन्टेन्टक्रेटर मुकेश नागरी ‘प्याउली’ले सुधार केन्द्रबाट घर फर्किएपछि भव्य स्वागत गरेका छन्।
विगत केही समयदेखि मानसिक स्वास्थ्यमा समस्या देखिएपछि पदम नागरीलाई उनका छोरा मुकेशले करिब ६ महिनाअघि धनगढीको भन्सार रोडस्थित सन्देश नेपाल सुधार केन्द्रमा राखेका थिए। समाजसेवीका रूपमा परिचित पदम नागरीले दुःख र समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आइरहेका थिए ।
६ महिनाको उपचार तथा सुधारपछि बुवाको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन आएको भन्दै मुकेशले उनलाई घर फर्काउने क्रममा धनगढीस्थित मानव सेवा आश्रम, तारानगरमा विशेष कार्यक्रम आयोजना गरेका हुन्।
आइतबार आयोजना गरिएको कार्यक्रममा डेउडा गायक–गायिकालगायत कलाकारहरूको प्रस्तुति रहेको थियो। कार्यक्रममा यज्ञ थापा, सौगात ओझा, टीका सानी, बालकेश थापा, सुरेन्द्र संगम बिसि, हर्क नागरी, निर्मला धामीलगायत कलाकारको सहभागिता थियो।
कार्यक्रममा पदम नागरीलाई परिवार, आफन्त तथा दाजुभाइहरूले फूलमाला र खादासहित स्वागत गरेका थिए। लामो समयपछि बुवालाई खुसी अवस्थामा देख्न पाउँदा छोरा मुकेशसहित परिवारका सदस्यहरू भावुक बनेका थिए।
मुकेश नागरी ‘प्याउली’ सामाजिक सञ्जालमार्फत समस्यामा परेका तथा दुःखी–पीडितलाई सहयोग गर्दै आएका व्यक्ति हुन्। आफ्ना आमाबुवाको खुसीका लागि आफूले सक्दो प्रयास गर्दै आएको उनले बताएका छन्।
बुवालाई सुधार केन्द्रमा राख्दाको समय सम्झिँदै मुकेशले घरबाट लैजाँदा बुवाको आँखामा आँसु र मनमा पीडा रहेको, तर अहिले सुधार भएर हाँस्दै घर फर्किन पाउँदा आफूलाई निकै खुसी लागेको बताए।
आफ्नो आमाबुवाको खुसीका लागि भारतको मुम्बईमा रहेर दुःख–कष्ट गर्दै आएका मुकेशले सुधार केन्द्रको खर्चसमेत नियमित रूपमा व्यवस्थापन गर्दै आएका थिए। बुवामा आएको सकारात्मक परिवर्तनलाई परिवारसँगै खुसी साट्दै उनले अन्ततः पदम नागरीलाई जन्मभूमि सायलतर्फ फर्काएका छन्।
यो घटनाले परिवारको माया, साथ र हेरचाहले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिको पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने सन्देशसमेत दिएको छ।मुकेश नागरी"प्याउली"भारतमा रोजगार गर्दै आइरहेका छन् ।