बडीमालिका पूजाका लागि गएको धनगढीको सरकारी टोलीलाई बाजुरामा स्वागत
धनगढीः बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरमा लाग्ने पूजाका लागि गएको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीलाई बाजुरामा स्वागत गरिएको छ।
शनिबार सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी धनगढीको टोलीलाई स्वागत गरेको हो।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बडीमालिकासहित सुदूरपश्चिम प्रदेशका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र संवर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक पहिचानलाई उजागर गर्दै समग्र सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
धनगढी उपमहानगरपालिकाले गत वर्षदेखि धार्मिक, पर्यटकीय तथा सांस्कृतिक परम्परासँग जोडिएको बडीमालिका तीर्थयात्रालाई निरन्तरता दिँदै आएको छ। सोही अभियानअन्तर्गत यस वर्ष पनि उपमहानगरपालिकाले सरकारी टोली बडीमालिका पठाएको हो।
शनिबार सदरमुकाम मार्तडीबाट सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरेको छ। टोलीको बडीमालिका यात्राले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।