जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा रक्तदान
धनगढी: राष्ट्रिय विभूति एवं मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा सुर्मा साइपाल सहकारी संस्था तथा बझाङी सेवा समाज अत्तरियाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेका छन्।
आइतबार आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा हर्कबहादुर धामीले पहिलो रक्तदान गरेका थिए भने अङ्गद भण्डारी अन्तिम रक्तदाता बनेका थिए।
राजा जयपृथ्वी बहादुर सिंहले मानवतावाद, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत मानवीय सेवामा योगदान गरेका हुन्।
आयोजकका अनुसार रक्तदानले बिरामी तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, सहकारीका पदाधिकारी तथा बझाङी सेवा समाजका सदस्यहरूको सहभागिता रहेको थियो।