सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको सीमा क्षेत्रमा १० लाख भन्दा बढीका अवैध सामान बरामद

२०८३ भदौ ६, ११:०३ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न सीमा क्षेत्रबाट एकै दिन १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुर मातहतका सीमा सुरक्षा गुल्म बेलौरी, बीओपी पुनर्वास, भुडा र ब्रह्मदेवबाट खटिएका गस्ती टोलीले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १० लाख ६ हजार रुपैयाँ बराबरका सामान बरामद गरेका हुन्।

सशस्त्र प्रहरीका अनुसार विभिन्न सीमा क्षेत्रबाट नेपाली तथा भारतीय नम्बर प्लेटका चार थान मोटरसाइकल, २ क्विन्टल ५० किलो चिनी, ३० किलो ब्रोइलर कुखुरा, ४० प्याकेट सुर्ती, २७५ लिटर पेय पदार्थ तथा चस्मा, हातघडी लगायतका सामान बरामद गरिएको हो।

बरामद गरिएका कुखुरा र पेय पदार्थ नष्ट गरिएको छ भने अन्य सामान आवश्यक कारबाहीका लागि त्रिनगर र गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले कञ्चनपुरका सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस