शहीद प्रहरी जवान थापाको सम्झनामा धनगढीमा चित्र
धनगढीः दार्चुलाको लेकम गाउँपालिका–३ गुमाखोलीका शहीद प्रहरी जवान उत्तम थापाको सम्झनामा धनगढीमा उनको चित्र बनाइएको छ। धनगढी उपमहानगरपालिका–१, सन्तोषी टोलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भित्तामा थापाको चित्र बनाइएको हो।
२०८२ भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटमा परी प्रहरी जवान थापाले ज्यान गुमाएका थिए। त्यतिबेला उनी महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत थिए।
करिब नौ वर्ष प्रहरी सेवामा रहेका थापा परिवारका मुख्य सहारा रहेको बताइएको छ। कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका थापाको सम्झनामा बनाइएको चित्रले उनको प्रहरी सेवाप्रतिको समर्पण, कर्तव्यनिष्ठा र बलिदानलाई स्मरण गराएको छ।
प्रहरी कार्यालयको भित्तामा बनाइएको उक्त चित्रले शहीद थापाप्रति सम्मान र श्रद्धा व्यक्त गर्नुका साथै उनको परिवारले व्यहोरेको पीडालाई समेत झल्काएको छ। थापाको योगदान र बलिदान प्रहरी परिवारसँगै गृहजिल्लावासीका लागि समेत सदैव स्मरणीय रहनेछ।