सार्वजनिक सेवा प्रवाह चुस्त बनाउन मुख्यमन्त्री भट्टको निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ब्रिफिङ लिँदै मुख्यमन्त्री भट्टले कार्यालयलाई स्मार्ट, प्रविधिमैत्री र परिणाममुखी बनाउँदै प्रदेशका सबै मन्त्रालय तथा निकायबीच प्रभावकारी समन्वय र अनुगमन गर्नुपर्ने बताए।
नागरिकले सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिए।
मुख्यमन्त्री भट्टले प्रदेश गौरवका आयोजना तथा रणनीतिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गरे। उनले कर्मचारीले निष्पक्ष र पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिए।
'फेयर भएर काम गर्नुस्, सुधार आवश्यक भएका ठाउँमा तत्काल सुधार थाल्नुस्,' मुख्यमन्त्री भट्टले भने।
ब्रिफिङका क्रममा प्रमुख सचिवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन संरचना, कार्यक्षेत्र, जिम्मेवारी तथा हालसम्मको कार्यसम्पादनबारे मुख्यमन्त्री भट्टलाई जानकारी गराएका थिए।