कञ्चनपुरमा वर्षौंदेखि घाटगद्दीमै थन्कियो २२ हजार क्युफिट काठ, राजस्वसमेत प्रभावित
कञ्चनपुर: कञ्चनपुरका राष्ट्रिय तथा सामुदायिक वनक्षेत्रबाट सङ्कलन, कटान र बरामद गरी घाटगद्दी गरिएका २२ हजार ३०६ क्युफिट काठ लिलाम बिक्री हुन नसक्दा सड्न थालेका छन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सन्तोष भट्टका अनुसार राष्ट्रिय वन क्षेत्रको १५ हजार क्युफिट र सामुदायिक वन क्षेत्रको सात हजार ३०६ क्युफिट काठ लिलाम हुन बाँकी छ । आठ चट्टा दाउरा पनि बिक्री हुन सकेको छैन ।
अवैध कटान तथा वन तस्करीबाट बरामद भएका काठ अदालतमा मुद्दा विचाराधीन रहेका कारण लिलाम प्रक्रिया अघि बढाउन समस्या भएको भट्टले बताए। उनका अनुसार बिक्री हुन नसकेका काठको वन नियमावलीबमोजिम पुनः मूल्याङ्कन गरी लिलाम प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८१/८२ मा काठदाउरा बिक्रीबाट सात करोड ६६ लाख २७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका सात डिभिजन वन कार्यालयअन्तर्गत पनि एक लाख दुई हजार क्युफिट काठ र २१३ चट्टा दाउरा लिलाम बिक्री गर्न बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । लामो समयदेखि घाटगद्दी गरिएको काठ समयमै बिक्री नहुँदा त्यसको उपयोगिता घट्ने जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ ।
आव २०८१/८२ मा कैलाली र पहलमानपुरका वनक्षेत्रबाट दुई लाख छ हजार १४७ क्युफिट काठ तथा २१२ चट्टा दाउरा सङ्कलन गरिएको थियो । त्यसैगरी दार्चुला, डडेलधुरा, बैतडी, डोटी र बझाङबाट ३४ हजार ४९८ क्युफिट काठ र ८३ चट्टा दाउरा सङ्कलन भएको थियो ।
सङ्कलित काठमध्ये एक लाख ३७ हजार ८८८ क्युफिट काठ तथा ८८ चट्टा दाउरा मात्र लिलाम बिक्री गरिएको छ । बिक्रीबाट सात करोड ९६ लाख ८५ रुपियाँ राजस्व सङ्कलन भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार लिलाम बिक्री गर्न बाँकी काठमध्ये सबैभन्दा धेरै कैलाली र पहलमानपुर डिभिजन वन कार्यालयमा मौज्दात छ । ती दुई कार्यालयमा मात्र पाँच लाख ५५ हजार २९२ क्युफिट काठ मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । -गाेरखापत्रबाट