सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ बैठकसम्म फर्किएनन् प्रकाश देउवा, प्रदेशसभा सदस्य पद गुम्यो

२०८३ भदौ २, ०६:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेपछि उनको पद रिक्त हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित नेपाली कांग्रेसका देउवा २०८२ असोजदेखि प्रदेशसभाका कुनै पनि बैठकमा सहभागी भएका छैनन्। हालसम्म उनी लगातार २५ वटा बैठकमा अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

२०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी नदिई अमेरिका गएको बताइएको छ। त्यसयता उनी अमेरिका मै रहेको जनाइएको छ।

प्रदेशसभाका बैठकमा उपस्थित नभए पनि उनले प्रदेशसभा सदस्यका रूपमा प्राप्त गर्ने पारिश्रमिक तथा अन्य सुविधाहरू भने निरन्तर लिँदै आएको बताइएको छ।

प्रदेशसभा नियमावली, २०८० ले सभाको जानकारीबिना लगातार १० वटा बैठकमा अनुपस्थित हुने सदस्यको पद रिक्त हुने व्यवस्था गरेको छ। नियमावलीको नियम ९(३) मा यस्तो व्यवस्था गरिएको छ।

देउवा लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई दिएका थिए। त्यसबेला सभामुख भण्डारीले उनको पद तत्काल कायम राखेका थिए। तर अनुपस्थिति २५ बैठकसम्म पुगेपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेका हुन्।

सभामुखको निर्णय प्रदेशसभा बैठकमा जानकारी गराउन भने बाँकी छ। देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।
 

कमेन्ट लोड गर्नुस