सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र
काठमाण्डौ: संघीय सरकार मातहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब/भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले हिजो सोमवार परिपत्रमार्फत् अर्धमासिक रूपमा तलब/भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागिएको कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको १५ दिन कटेपछि अर्धमासिक रूपमा तलब/भत्ता भुक्तानी गरिनेछ । बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ ।