मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
बाजुरा: मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन।
उक्त सडक विंस २०५६ देखि सुरु भएको हो। प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो। सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ। काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो। विनियोजन भएको बजेटमध्ये रु ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाले आर्थिक वर्ष २०८२-८३ मा मार्तडी–कोल्टी सडकमा रु २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा रु १३ करोड ५० लाख रकम काम नभई फिर्ता गएको जानकारी दिए।
मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो। “गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुन्थ्यो ।”, उहाँले भन्नुभयो , आर्थिक वर्ष २०८१-८२ मा उक्त सडकका लागि रु १५ करोड बजेट विनियोजन भएको थियो।
जिल्लाको अर्को प्रदेश गौरवको सडक खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो। तर, २०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के.एस.एम.के.बि.सी÷तेज जेभी, धनगढी कैलालीले आर्थिक वर्षभरिमा करिब दुई करोड ५० लाख बराबरको काम गरेकाले बाँकी बजेट फिर्ता गएको छ।
मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो। पीएस बानियाँ निर्माण सेवाले रु ५० करोड १७ लाखमा ठेक्का प्राप्त गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो।
मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडकको कूल लम्बाई ४१ किलोमिटर छ। ४१ किमी सडकका निर्माण पुरा गर्न रु ९८ करोडमा लागत टेन्डर आह्वान गरिएको थियो। हालसम्म ५० प्रतिशत काम भएको छ।
यो सडकको २६ किलोमिटर बाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ। १५ किलोमिटर कालोपत्रेका लागि रु ५८ करोड बजेट विनियोजन भएको थियो। पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा धेरै काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर कालोपत्र गर्ने काम अधुरो छ।