सुदूर नेपाललाई विश्वसँग जोड्दै

पातबाट आत्मनिर्भर बन्दै जुनि, दुना–टपरी उद्योगबाट बढाउँदै व्यवसाय

२०८३ भदौ २, १२:४६ लक्ष्मण ढुङ्गाल

धनगढी: घरको खाली समयलाई सदुपयोग गर्दै धनगढीकी जुनि चौधरी व्यवसायिक रूपमा दुना–टपरी उत्पादनमा सक्रिय भएकी छन्। प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने धनगढी उपमहानगरपालिकाको अभियानसँगै दुना–टपरीको माग बढेपछि उनले यही व्यवसायलाई आम्दानीको माध्यम बनाएकी हुन्।

घरमै बसेर खाली समय बिताउनुभन्दा केही इलम गर्ने सोच बनाएकी जुनिले साथीको सम्पर्कमा पुगेर दुना–टपरी बनाउन सिकिन्। सुरुमा दुई दिनको सिकाइबाट टपरी बनाउन जानेकी उनले साथीहरूकै सहयोगमा मेसिन चलाउन पनि सिकिन्। अहिले भने उनी आफैं मेसिन सञ्चालन गर्दै नियमित रूपमा दुना–टपरी उत्पादन गरिरहेकी छन्।

जुनिले धनगढी उपमहानगरपालिका– ५ शिवनगरमा सटर भाडामा लिएर छुट्टै उद्योग सञ्चालन गरेकी छन्। करिब दुई लाख रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायलाई उनले क्रमशः व्यावसायिक रूपमा विस्तार गर्दै लगेकी छन्। आफूले उत्पादन गरेका पातका दुना–टपरी होटल, अस्पतालका क्यान्टिन, पूजा सामग्रीका पसल तथा अन्य विभिन्न पसलमा बिक्री वितरण गर्दै आएकी छन्। उनले थोक तथा खुद्रा दुवै मूल्यमा टपरी बिक्री गर्ने गरेकी छन्।

व्यवसाय सुरु गरेदेखि परिवारको साथ र सहयोगले आफूलाई थप हौसला मिलेको जुनि बताउँछिन्। सुरुमा नयाँ काम सिक्न केही चुनौती भए पनि अहिले उत्पादनदेखि मेसिन सञ्चालनसम्मका अधिकांश काम आफैं गर्न सक्ने भएकी छन्।

जुनिको व्यवसाय आम्दानीमा मात्रै सीमित छैन। खेर जाने पातको सदुपयोग गर्दै उनले वातावरण संरक्षणमा समेत योगदान पुर्‍याइरहेकी छन्। प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा स्थानीयस्तरमै उत्पादन हुने दुना–टपरीको प्रयोग बढाउन सके वातावरण प्रदूषण न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने उनको विश्वास छ।

‘बाहिरबाट सामग्री आयात गर्नुभन्दा यहीँ उत्पादन भएका सामग्रीको प्रयोग बढे स्थानीयस्तरमै आर्थिक कारोबार बढ्छ,’ जुनि भन्छिन्।
उनले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सरकारले तालिम, अनुदान तथा बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। 
सीप सिकेर सानो लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने भएकाले महिला तथा पुरुष सबैले खाली समयलाई सदुपयोग गर्दै कुनै न कुनै इलममा जोडिनुपर्ने उनको सुझाव छ।

प्लास्टिकका सामग्रीको प्रयोग घटाउने अभियानसँगै स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै जुनिले सुरु गरेको दुना–टपरी उद्योग आत्मनिर्भर बन्न चाहने महिलाका लागि उदाहरणसमेत बनेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस