करदाता प्रोत्साहन पुरस्कार: ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख उपहार
काठमाडौं: सरकारले साउन महिनाको दोस्रो पाक्षिक ‘करदाता प्रोत्साहन पुरस्कार’ का विजेताहरूको नाम सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले ‘लक्की ड्र’ मार्फत विजेताहरू घोषणा गरेका हुन् ।
यस पटकको मुख्य आकर्षण रहेको १० लाख रुपैयाँ राशिको बम्पर उपहार एक उपभोक्ताले मात्र ३५० रुपैयाँको खरिदमा हात पारेका छन् । आन्तरिक राजस्व विभागका अनुसार ती भाग्यशाली उपभोक्ताले ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’ बाट सामान खरिद गर्दा जारी भएको बिल (कुपन नम्बर: ०२६८८८९७९०३९) मार्फत सो पुरस्कार जितेका हुन् ।
साउन १६ देखि ३१ गतेसम्मको अवधिमा भएका करिब साढे तीन करोड कारोबारमध्येबाट उनी बम्पर विजेता छानिएका हुन् ।
त्यसैगरी, साउन १६ देखि ३१ गतेसम्मको १६ दिनका लागि १६ जना दैनिक विजेताहरूको पनि घोषणा गरिएको छ । दैनिक विजेताका रूपमा छानिएका प्रत्येक उपभोक्ताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् । सरकारी नियमानुसार २५ प्रतिशत कर कट्टी भएपछि उनीहरूले खुद १ लाख रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार दैनिक विजेताहरूका कुपन नम्बर यसप्रकार छन्:
०३०३४२२७९९५६
०१९२५६५१०९२५
०२६१४४५१५००५
०३१७९९९३५०८२
०१७७६६१०७००५
०१८१२८७५९४०९
०२११८४०००६५३
०२४६७३१७१९०४
०२५३५७३३१९४१
०२३८५६८८५३७०
०२२४५८०९६६६८
०१६६६७२९०१४६
०२००३७२८३७४७
०२९१८४६२२६६५
०२८६५७७७५४५९
०२७७११४८७१४५
सार्वजनिक भएका सबै विजेताले आगामी १६ भदौभित्र आफ्नो पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र दाबी नगरेमा पुरस्कार रद्द हुन सक्ने व्यवस्था छ ।
उपभोक्तालाई सामान किन्दा अनिवार्य बिल लिने बानीको विकास गर्न र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सरकारले यो योजना ल्याएको हो । बैंक तथा वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।
नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।