भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
टोकियो, (रासस/एएफपी): पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ।
अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन्। बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। मौसमविद्हरूले पहिलोपटक चिबा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए।
चिबाको एक मौसम मापन केन्द्रले २४ घण्टामा ३० सेन्टिमिटर अर्थात् करिब १२ इन्च वर्षा मापन गरेको थियो। यो विगत ६० वर्षयताकै अगस्ट महिनाको सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ।
भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतया पूरै अगस्त महिनामा पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको थियो।
एनएचकेका अनुसार वर्षाका कारण आइतबार बिहानसम्म नौ जनाको मृत्यु भएको छ। शनिबार साँझसम्म चिबाको विपद् व्यवस्थापन कार्यालयले आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मृतकमध्ये केही डुबानमा परेका सवारीसाधनभित्र फेला परेका थिए भने केही डुबानग्रस्त सडकमा मृत अवस्थामा भेटिएका थिए।
चिबा प्रिफेक्चरको पछिल्लो विवरणअनुसार ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ। एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। तीमध्ये करिब ६०० घरको भुइँको सतहभन्दा माथिसम्म पानी पसेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब एक हजार २०० सवारीसाधन सडकमा अलपत्र परेका छन्। अधिकारीहरूले ती सवारीसाधन टो तथा ज्याकको प्रयोग गरी हटाउने काम गरिरहेका छन्।
जापानको मौसम विज्ञान विभागका एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा चिबामा ‘अभूतपूर्व स्तरको भारी वर्षा’ हुने चेतावनी दिएका थिए।
वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले चरम मौसमी घटनालाई अझ बारम्बार, लामो समयसम्म र तीव्र बनाउँदै लगेको छ।