लक्ष्य निर्माण: सफल जीवनको पहिलो पाइला
भरतप्रसाद श्रेष्ठः लक्ष्य के हो ? मानव जीवन सम्भावनाको खानी हो। हामी जे खोज्छौं, जे चाहन्छौं त्यही पाउँछौं तर कर्म चाहीं गर्नै पर्दछ। बिना कर्म केहि पनि पाइंदैन, कर्मले नै भविष्यमा प्राप्त हुने फलको निर्धारण गर्दछ। हामिले जस्तो किसिमको कर्म गर्छौं फल पनि त्यसै अनुरुपको प्राप्त हुन्छ ।
असल कर्मबाट राम्रो फल र खराब कर्मबाट नराम्रो एवम् दु:खदायी फल प्राप्ति हुन्छ । सामान्यतया मानिसको जीवन जन्म पछी बाल्य अवस्था, युवावस्था, बयस्क अवस्था र बृद्धावस्था सम्मका चरणहरु पार गर्दै पुरा हुने गर्दछ । जीवनका ती हरेक चरण एवम् अवस्था अनुसारका फरक फरक चाहना र आवश्यकता हुन्छन् ।बाल्यवस्था बाहेकका अन्य चरणहरुका चाहना र आवश्यकता मध्ये अधिकाँश आवश्यकताहरु ब्यक्ति स्वयँ आफैले आफ्नो ज्ञान, बृद्दि,क्षमता र विवेक प्रयोग गरी हासिल गर्नु पर्दछ ।
जीवनका हरेक चरणहरुमा प्राप्त हुनुपर्ने आवश्यकता र चाहना पुरा हुँदै गयो भने जीवन खुसी, सुखी र आनन्दित बन्छ, जीवन सार्थक र अर्थपूर्ण हुँदै गएको स्वयं ब्यक्ति आफैलाई अनुभूति हुन्छ ।
"लक्ष्य" पुग्न चाहेको गन्तव्य हो । भविष्यमा प्राप्त गर्न चाहेको उपलब्धी हो । लक्ष्य आफूले प्राप्त गर्न खोजेको फल हो । जब ब्यक्तिले आफ्नो लक्ष्य निर्धारण/निर्माण गर्दछ, उ भित्र एक किसिमको आशाको दियो बल्न थाल्छ । उसले त्यो फल प्राप्ति गरिरहेको कल्पना गर्न थाल्छ अनि बिस्तारै ब्यक्ति भित्रैबाट उत्साहित हुन थाल्छ,भित्रैबाट उमङ्ग जाग्न थाल्छ । यो उत्साह र उमङ्गले गर्दा ब्यक्ति भित्र सकारात्मक उर्जा ह्वात्तै बढेर आउँछ । जसको कारण ब्यक्ति भित्र कता कताबाट एक्कासी आँट, साहस र आत्मविश्वास जागृत हुनुका साथै आन्तरिक उत्प्रेरणा जागृत भई ब्यक्ति आफ्नो लक्ष्यमा केन्द्रित भएर लक्ष्य अनुरुप कार्य गर्न दत्त चित्त भई एकाग्रताका साथ निरन्तर लागिरहन्छ ।
लक्ष्यले ब्यक्तिलाई हरक्षण आफ्नो भविष्य प्रति सजग बनाइरहन्छ । ब्यक्तिलाई संधै सकारात्मक र प्रगति एवम् उपलब्धीका बारेमा सकारात्मक चिन्तन गर्ने वातावरण श्रृजना गर्दछ ।
लक्ष्य भएन भने के हुन्छ ?
लक्ष्य विहिन हुँदा ब्यक्तिले आफ्नो कर्तब्य र जिम्मेवारी चटक्कै बिर्सन्छ । ब्यक्तिको भविष्य अन्धकार जस्तो हुन्छ, भविष्यमा कहाँ पुग्ने, के प्राप्त गर्ने केहि ठेगान हुँदैन, गन्तब्य बिहिन पानी जहाज जस्तो जीवन बन्छ ।
आज के गर्ने, भोलि के गर्ने, एक हप्तामा के गर्ने, एक महिनामा के गर्ने केहि थाहा हुँदैन । समय बिना काममा बितिरहेको हुन्छ । जब ब्यक्ति काम बिहिन हुन्छ, लक्ष्य विहिन हुन्छ अनि ब्यक्ति बरालिन थाल्छ । अरुले जहाँ जाउँ भन्यो त्यतै जाने,जे गरौं भन्यो त्यही गर्ने गर्छ । ब्यक्ति अर्थहिन र उपल्बधी विहिन काममा समय ब्यतित गरिरहन्छ । जीवन मात्र टाइम पासमा चलिरहन्छ ।जीवन अस्तब्यस्त तरिकाले चलिरहन्छ। जीवनले कुनै निश्चित लयनै पाइरहेको हुँदैन, यस्तो अवस्थामा ब्यक्ति चाहिने भन्दा नचाहिने काममा समय खर्च गर्दछ ।
मनमा अनावश्यक विचारहरु चलिरहन्छ र यस्तै अनावश्यक कुराहरुको सँग्रह बढ्दै जान्छ । जस्तो विचार मनमा हुन्छ बाहिरी जीवन पनि उस्तै बन्दै जान्छ । यस्ता ब्यक्तिहरु कुसँगत र कुलतमा लाग्ने सम्भावना बढी हुन्छ ।समयको अन्तरालसँगै जीवनका विभिन्न चरणमा पुरा हुनु पर्ने आवश्यकता र चाहना एवम् उपलब्धीहरु केहि पुरा हुँदैन, उपलब्धी शुन्य हुन्छ । ब्यक्ति आफूले जीवनमा केहि गर्न नसकेको महशुस गर्न थाल्छ । नकारात्मक सोंच बढ्न थाल्छ, जीवन नरमाइलो बन्दै जान्छ। कुनै कुरामा पनि चित्त नबुझ्ने, कुनै काममा ध्यान नलाग्ने अवस्था श्रृजना हुन थाल्छ । यस्तो ब्यक्तिको समग्र स्वास्थ्य र सम्बन्धहरु पनि बिस्तारै बिग्रँदै जान्छ।
बिना लक्ष्य हामीले गरेको कामको उपलब्धीलाई मापन गर्न सक्दैनौं । मैले कति काम, कसरी र कति समय गर्दा कति उपलब्धी भयो र अब पुरै उपलब्धी प्राप्त गर्न के गर्नु पर्दछ, कसरी गर्नु पर्दछ र कति समय लाग्छ भन्ने कुरा पहिचान गर्न सकियो भने जीवन अझ ब्यवस्थित भई अघि बढ्छ ।
तसर्थ कुनै पनि ब्यक्ति आफ्नो जीवनलाई शान्त, स्वस्थ, खुसी, आनन्दित, सफल र सार्थक बनाउन लक्ष्य बनाउँदै अघि बढ्नु पर्ने कुरामा दुई मत छैन ।
लक्ष्य निर्माण कसलाई आवश्यक हुन्छ ?
लक्ष्य विनाको जीवन अस्तब्यस्त हुन्छ तसर्थ लक्ष्य निर्माण गर्नु हरेक ब्यक्तिलाई आवश्यक छ ।लक्ष्यले ब्यक्तिलाई आत्मनुशासनमा राख्छ। आफूलाई आफैप्रति जवाफदेही बनाउँछ । आफ्नो कर्तव्य र जिम्मेवारीलाई उचित समयमा सहि ढङ्गबाट कार्यान्वयन गर्न प्रेरित गर्दछ । सही लक्ष्यले मात्र भविष्यमा असल जीवन निर्माण गर्दछ।
लक्ष्य निर्माण गरेर अघि बढ्ने ब्यक्तिको मनमा विचार पनि लक्ष्य बमोजिमकै मात्र आउने हुँदा सही लक्ष्य निर्माण गरी अघि बढ्ने ब्यक्तिले संधै सकारात्मक, असल र प्रगतिमैत्री विचार मात्र गर्ने भएकाले यस्ता ब्यक्तिको भविष्य सँधै उज्यालो हुन्छ।
तसर्थ आफ्नो जीवनलाई सुब्यवस्थित, सफल, अनुशासित, सरल, सहज, सुखद, आनन्दित बनाउन चाहने जो कोही ब्यक्ति जस्तै : विद्यार्थीले, गृहिणी, किसान, ब्यापारी, कर्मचारी, बैंकर, डाक्टर, इञ्जिनियर आदी सबैलाई आफ्नो स्पष्ट लक्ष्य निर्माण गरी अघि बढ्नु आवश्यक छ ।
लक्ष्य प्राप्ती लाई कसरी प्रभावकारी बनाउने त ?
लक्ष्य निर्माण गरेर मात्र हुँदैन यसलाई तोकिएको समयावधी भित्र प्राप्त गर्नको लागि सम्पन्न गरिनु पर्ने स्पष्ट कार्ययोजना पनी अपरिहार्य हुन्छ । उक्त तोकिएका लक्ष्य प्राप्त गर्न सम्पन्न गरिनु पर्ने कार्यहरुको पहिचान गरी तिनलाई बुद्धिमतापूर्ण तरिकाले सम्पन्न गर्नु महत्वपूर्ण हुन्छ । लक्ष्य निर्माण गरेको ब्यक्तिलाई विहान के गर्ने, दिउँसो के गर्ने, साँझ के गर्ने, भोली के गर्ने, एक हप्तामा के गर्ने, अनि एक महिनामा के गर्ने भन्ने बारेमा स्पष्ट हुनु पर्दछ ।यसो हुँदा आफूले चाहेको गन्तब्यमा पुग्ने स्पष्ट मार्ग पहिचान हुन्छ ।
जीवन एक किसिमको स्पष्ट लयमा अघि बढ्छ, अब यो मार्गमा निरन्तर अघि बढ्नु अति आवश्यक हुन्छ । यसको लागि आफ्नो दैनिक उपलब्ध चौबिस घण्टाको समयलाई सहि र बुद्धिमतापूर्ण तरिकाले सदुपयोग गर्नु पर्दछ अनिमात्र हामिले तय गरिएका कार्यहरु तोकिएको समयभित्र सम्पन्न हुँदै जान्छन् । काम सम्पन्न हुँदा हामीलाई भित्रैबाट खुसी लाग्छ, उत्साहित हुन्छौं । हामिले प्राप्त गर्ने सानो उपलब्धीले पनि हामिलाई ठुलो खुसी दिइरहेको हुन्छ । यति बेला शरिरमा Dopamine नामक हर्मोन उत्पन्न हुन्छ जसका कारण आन्तरिक उत्प्रेरणा जागेर आउँछ हामी थप आत्मविश्वासी बन्न थाल्छौं ।
यसले हामिलाई अगाडीको जीवनमा आइपर्ने समस्या र चुनौतिहरुलाई सामना गरी सफलताको सिंढी चढ्न थप उर्जा दिन्छ ।
उपलब्धी हुँदै जाँदा आफू फल प्राप्ति तर्फ अघि बढेको महशुस हुन थाल्छ । आफ्नो जीवन सार्थक हुँदै गएको आफैलाई अनुभूति हुन थाल्छ ।
आफूले प्राप्त गर्न खोजेको फलको प्रकृति र सो प्राप्तिका लागि लाग्न सक्ने समयको आधारमा लक्ष्यलाई दीर्घकालिन, मध्यमकालिन र अल्पकालिन गरी तिन वर्गमा विभाजन गरी तय गर्न सकिन्छ ।
मानौ भर्खर मात्र कक्षा ८ मा भर्ना भई अध्ययनरत रहेका कुनै विद्यार्थीले यदी कक्षा आठको अन्तिम परिक्षामा ४ जि पि ए हासिल गर्ने लक्ष्य राखेका छन् भने त्यसलाई दीर्घकालिन लक्ष्यको रुपमा लिन सकिन्छ । एकैचोटी दीर्घकालिन लक्ष्य प्राप्ति हुन सक्दैन । त्यसका लागी सफलताका सिंढीहरु क्रमश चढ्नु पर्ने हुन्छ । अहिलेको अवस्थाबाट अन्तिम परिक्षामा ४ जि पि ए ल्याउने अवस्था सम्म पुग्नको लागि विभिन्न चरणमा आफूले सम्पन्न गर्नु पर्ने कार्यहरुलाई चरणबद्ध रुपमा स-साना लक्ष्य निर्धारण गरी कार्यान्वयन गर्नु आवश्यक हुन्छ । यसरी विभिन्न चरणका लागि तय गरिने लक्ष्य एवम् कार्यहरु एक अर्को सँग अन्तरसम्बन्धित हुन आवश्यक छ ।
दीर्घकालिन लक्ष्य प्राप्त गर्नका लागि हामिले शुरु चाहिं अहिलेदेखिनै गर्नु पर्दछ । यसको मतलब उक्त विद्यार्थीले तत्काल गर्नै पर्ने कामहरु के के हुन् त । मानौ १ हप्तामा गर्नु पर्ने, १ महिनामा गर्नु पर्ने, २ महिना मा गर्नु पर्ने, ३ महिनामा गर्नु पर्ने मुख्य मुख्य कामहरु के के हुन ।
जस्तै : तत्काल लेखन शैली सुधार गर्नु पर्ने, अक्षरसुधार गरी सफा र शुद्ध लेखनशैली विकास गर्नु पर्ने, समय ब्यवस्थपन गर्नु पर्ने, असल ब्यक्तिहरुको सँगत बनाउनु पर्ने,आफ्नो आचरण एवम् अनुशासन सुधार गर्नु पर्ने,कक्षामा शिक्षकले पढाउनु भएको कुरामा एकाग्रता बढाउनु पर्ने आदी लगायतका कार्यहरुलाई छोंटो समयावधी (मानौ १ महिना) विनियोजन गरी लक्ष्य तोकियो भने यसलाई तत्कालिन लक्ष्य भनेर भन्न सकिन्छ ।
यस पश्चात मध्यमकालिन लक्ष्य अर्थात ३ देखि ६ महिनाको विचमा गर्नु पर्ने कार्यहरु जस्तै त्रैमासिक परिक्षाहरुमा राम्रो प्रतिफल ल्याउनको लागि गर्नु पर्ने कार्यहरु जस्तै : आफ्नो लगनशिलताको निरन्तरता, समय ब्यवस्थपनको निरन्तरता र दैनिक रुपमा गरिरहेका कार्यहरुको समिक्षा गरी देखा परेका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने आदी जस्ता कार्यहरुलाई मध्यमकालिन लक्ष्यको रुपमा लिन सकिन्छ ।
एकै पटक ठुलो काम गर्न खोज्दा ढङ्ग पुग्दैन, समय बढी लाग्ने भई धैर्यता टुट्दै जान्छ, गर्नु पर्ने कार्यले निरन्तरता नपाउन सक्दछ,छिटो प्रतिफल नआउँदा मन आत्तिन्छअनि ब्यक्ति निरास हुन थाल्छ । तसर्थ लक्ष्य प्राप्तिलाई सहज र उपलब्धीमूलक बनाउन हामिले सानो सानो कामको छोंटो छोंटो समय अवधी तोकि लक्ष्य बनाएर अघी बढ्दा सानो लक्ष्य अनुरुपको सानो सानो काम गर्न सहज हुनुका साथै काम पुरा हुँदै गर्दा उपलब्धी पनि हासिल हुँदै जाने हुँदा उत्साह बढ्दै जान्छ र गरिरहेको काममा रमाउन थालिन्छ ।
मैले गर्न सक्ने रहेछु, गरेपछी हुने रहेछ भन्ने एक किसिमको आत्मविश्वास बढ्दै जान्छ । अझ ठुला र जटिल काम गर्न आँट आउँछ, अब समस्या र चुनौती होइन ती समस्या र चुनौति समाधान गर्ने प्रशस्त सम्भावना र उपाय प्रष्ट देखिन थाल्छन् । बुद्धि, विवेक र सजगता बढ्दै जान्छ साथै प्रतिफल प्राप्तिका लागि लाग्ने समयलाई प्रतिक्षा गर्ने धिरता पनि बढ्दै जान्छ । यसरी अघि बढ्दै जाँदा आफूले तोकेका लक्ष्य सहजै प्राप्त हुन्छ ।
हामीले ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा चाहीं के छ भने हाल लक्ष्य निर्माण गर्ने ब्यक्तिहरुमध्ये अधिकाँश ब्यक्तिहरुले आफ्नो पेशागत जीवनको विषयमा मात्र केन्द्रित भएर लक्ष्य निर्माण गरेको देखिन्छ र आफ्नो हर प्रयास हरु यसैको प्रगति र उन्नतीमा लगाएको देखिन्छ । यसो गर्दा महत्वपूर्ण अन्य तीन वटा जीवन (ब्यक्तिगत जीवन, पारिवारिक जीवन र सामाजिक जीवन) सँग सम्बन्धित विषयहरु छुटिरहेका हुन्छन् । पेशागत जीवनमा जतिनै सफल भएतापनी अन्य बाँकी तीन वटा जीवनमा खासै ध्यान नपुग्दा समयको अन्तरालसँग ब्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा विभिन्न समस्याहरु देखिन थाल्छ र ब्यक्तिको समग्र जीवननै निरासाजनक, दु:खदायी, तनावयुक्त बन्न थाल्दछ। यस्तो अवस्था वर्तमान समयमा हाम्रो आफ्नै समाजमा उदाहरणका रुपमा देखिनै रहेका छौँ ।
अत: लक्ष्य निर्माण गर्दा हाम्रा चारवटै जीवन (ब्यक्तिगत, पेशागत, पारिवारिक र सामाजिक) लाई सुब्यवस्थित गर्ने उद्देश्यले हरेकको अलग अलग लक्ष्य निर्माण गरी सोहि बमोजिम कार्यहर गर्दै जानु पर्दछ अनिमात्र सुख, शान्ति, समृद्धि र आनन्द प्राप्ती हुदै जान्छ अनि समग्र जीवन ब्यवस्थित एवम् सफल हुँदै जान्छ। (लेखक श्रेष्ठ, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव एवं जीवन विज्ञानका योग तथा ध्यान प्रशिक्षकसमेत हुन्।)