बसको ठक्करबाट ईभी भ्यान भिरमा खस्दा दुई जनाको मृत्यु, तीन घाइते
नुवाकोटः नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकअगाडि रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।
तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।