सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेटौँडा बसपार्कमा पार्किङ विवादमा, चार जना घाइते

२०८३ साउन ३०, ०८:४२ खबर संवाददाता

हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर विवाद हुँदा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रहरीका अनुसार २०८३ साउन २९ गते बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका–१ मकरीका करिब ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्र रूप लिएपछि धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।

घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।

गोले र पाख्रीनको अवस्था मध्यम तथा आले मगर र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारै जनालाई हेटौँडामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ।

घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाउने क्रममा हेटौँडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ।

यस्तै, घटनामा संलग्न रहेको शंकाका आधारमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस