सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय

२०८३ साउन ३०, ०७:५८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेका छन्।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस शय्या थप गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ। यस्तै, लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय भएको छ।

डायलाइसिस सेवा विस्तार भएपछि मिर्गौला रोगका बिरामीलाई उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने प्रदेश सरकारको अपेक्षा छ। नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीको सङ्ख्या बढ्दै गए पनि प्रदेशका सबै क्षेत्रमा पर्याप्त सेवा उपलब्ध नहुँदा बिरामीहरू उपचारका लागि टाढा जानुपर्ने अवस्था रहँदै आएको छ।

पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।

मुख्यमन्त्री भट्टसँगै शुक्रबार नेकपा एमालेबाट सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी तथा एक राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री भट्टसहित नवनियुक्त मन्त्रीहरूले नागरिकमैत्री, प्रभावकारी र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचलाई केन्द्रमा राखेर सरकार सञ्चालन गर्ने बताएका छन्।

कमेन्ट लोड गर्नुस