काँग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
काठमाडौँ: नेपाली काँग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन्।
समारोहमा पार्टीका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेतलगायत छन्। पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलामा मुलुकभरबाट आएका सयौँ नेताकर्ताको उपस्थिति छ ।
पूर्वप्रधानमन्त्री देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ । बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक, समसामयिक, प्रस्तावमाथि छलफल गरिने बताइएको छ ।
कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।