सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पहिलोपटक टाटाका बीएस–६ बस सार्वजनिक, ८ देखि १२ मिटरसम्मका नयाँ मोडल

२०८३ साउन २६, ०३:५८ खबर संवाददाता

धनगढी: नेपालमा आधुनिक तथा वातावरणमैत्री सार्वजनिक यातायातको विस्तार गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा मोटर्सका नयाँ बीएस–६ बस शृङ्खला सुदूरपश्चिममा पहिलोपटक सार्वजनिक गरेको छ।

धनगढीस्थित सौंराई प्यालेसमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका २० भन्दा बढी यातायात संघ–संस्था तथा प्रा.लि.का प्रतिनिधि, यातायात व्यवसायी र सञ्चारकर्मीको सहभागितामा टाटाका नयाँ बस सार्वजनिक गरिएको हो।

कार्यक्रममा ८ मिटरदेखि १२ मिटरसम्मका सामान्य तथा दोहोरो हावा निलम्बन प्रविधियुक्त बीएस–६ बस सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। एलपीओ १६१८/५३ देखि एलपीओ १६२२/६२ सम्मका यी बस लामो दूरी तथा रात्रि सेवाका लागि उपयुक्त र आरामदायी रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नेपालभर हालसम्म १ हजारभन्दा बढी बीएस–६ गाडी बिक्री तथा सञ्चालन भइसकेका छन्। नयाँ प्रविधिको प्रभावकारी प्रयोगका लागि चालक तथा यातायात मजदुरलाई निरन्तर तालिम प्रदान गरिने कम्पनीले जनाएको छ।

यातायात व्यवसायीलाई सम्मान तथा साँचो हस्तान्तरण

कार्यक्रममा लामो समयदेखि टाटाका गाडीमार्फत सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका सुदूरपश्चिमका यातायात संघ–संस्था, महासंघका पदाधिकारी तथा व्यवसायीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। साथै, नयाँ बीएस–६ बस खरिद गर्ने व्यवसायीलाई गाडीको साँचो हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको सभापति तथा आयोजकका रूपमा सिप्रदी ट्रेडिङ प्रा.लि.का वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल र कृष्ण चन्दको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम प्रदेश संयोजक टेकराज जोशी, केन्द्रीय उपाध्यक्ष तथा महाकाली यातायात बहुउद्देश्यीय प्रा.लि.का अध्यक्ष डम्बर राज पन्त तथा केन्द्रीय सदस्य एवं सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदम राज सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै, विभिन्न यातायात संघ–संस्था तथा प्रा.लि.का अध्यक्ष तथा प्रतिनिधिहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। सहभागीहरूमा खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्त राज जोशी तथा महासचिव मोहन रावल, पवनदूत सार्वजनिक यातायात सेवा प्रा.लि.का अध्यक्ष महेश बोहरा, पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष निरञ्जन थापा, रिवरसाइड यातायात प्रा.लि.का अध्यक्ष गणेश चन्द ओली, सुदूरपश्चिम महाकाली यातायात प्रा.लि.का अध्यक्ष जनक चन्द रहेका थिए।

यसैगरी उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा.लि.का प्रबन्ध निर्देशक/अध्यक्ष दिपक भट्ट, शिवपुरी यातायात प्रा.लि.का अध्यक्ष/प्रबन्ध निर्देशक महेश क्षेत्री, मालिका यातायात प्रा.लि.का अध्यक्ष दिलबहादुर खड्का, शैलेश्वरी यातायात प्रा.लि.का प्रतिनिधि तथा महासचिव जयबहादुर खड्का, शुक्लाफाँटा यातायात प्रा.लि.का अध्यक्ष सुरेश खड्का, बैतडी यातायात प्रा.लि.का अध्यक्ष बालकृष्ण भट्ट तथा पश्चिम स्टार यातायात प्रा.लि.का अध्यक्ष जनक भण्डारीको सहभागिता रहेको थियो।

यात्रुको सुरक्षा र आराममा जोड

कार्यक्रममा बोल्दै यातायात व्यवसायीहरूले नयाँ प्रविधियुक्त बसको आगमनले यात्रुको सुरक्षा, सुविधा तथा आरामदायी यात्रामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

लन्चिङ अवसरमा कम्पनीले विशेष छुट तथा अफरसमेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एलपी ७१६/४५ को मूल्य ५१ लाख २० हजार रुपैयाँदेखि एलपीओ १६२२/६२ फाराको मूल्य ८७ लाख ८५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। खरिदकर्ताका लागि पहिलो वर्षको विशेष सर्भिसिङ प्याकेजसमेत उपलब्ध गराइएको छ।

नयाँ बीएस–६ बसमा विद्युतीय स्थिरता नियन्त्रण, उकालोमा सुरुवात सहयोग प्रणाली, इन्जिन ब्रेक, गति नियन्त्रण प्रणाली, गियर परिवर्तन सुझाव प्रणाली, इन्धन अनुगमन प्रणाली, बहु–चरणीय क्लच, कम घुम्ती प्रतिरोध भएका टायर, केबल गियर सिफ्ट तथा मजबुत सिधा चेसिस फ्रेम लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।

साथै, बसमा एक वर्षको सर्भिस अन्तरालको सुविधा उपलब्ध रहेको बताइएको छ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल, बिक्री तथा व्यवस्थापनतर्फका पदाधिकारीलगायतको उपस्थिति थियो। कार्यक्रम सभापतिको मन्तव्य तथा दिवा भोजसहित सम्पन्न भएको थियो।

कमेन्ट लोड गर्नुस