सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवहरिया–धनचौरी सडक मर्मत तथा स्तरोन्नतिका लागि धनगढी उपमहानगरपालिकाको ध्यानकर्षण

२०८३ साउन २६, ०८:४५ खबर संवाददाता

धनगढीः देवहरियादेखि धनचौरीसम्मको सडक खण्ड लामो समयदेखि जीर्ण बनेपछि त्यसको तत्काल मर्मत तथा स्तरोन्नतिको माग गर्दै धनगढी उपमहानगरपालिकाको ध्यानकर्षण गराइएको छ।

सुदूरपश्चिम प्रदेश युवा सञ्जालका अध्यक्ष युवराज जोशीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाउँदै जिर्ण सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न आग्रह गरेका हुन्। धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोड्ने सीमाक्षेत्र हुँदै जाने देवहरिया–धनचौरी सडकको अवस्था अत्यन्तै दयनीय बनेको ज्ञापन पत्रमा उल्लेख छ।

सडकका ठाउँ–ठाउँमा परेका ठूला–ठूला खाल्डाखुल्डी र बिग्रेको सतहका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारी साधनले निकै सास्ती खेप्नुपरेको बताइएको छ। विशेष गरी वर्षात्को समयमा खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटनाको जोखिम उच्च बनेको छ।

धनगढी र गोदावरी क्षेत्रका बासिन्दाको दैनिक आउजाउ र यातायातका लागि यो सडक महत्वपूर्ण मानिन्छ। सञ्जालका अध्यक्ष जोशीद्वारा हस्ताक्षरित पत्रमा उक्त सडक खण्डको तत्काल स्थलगत अनुगमन गरी खाल्डाखुल्डी पुर्ने, मर्मत सम्भार गर्ने तथा आवश्यकता अनुसार स्तरोन्नतिका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन उपमहानगरपालिकासँग जोडदार माग गरिएको छ।

कमेन्ट लोड गर्नुस