सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बूढीगङ्गामा १५ शय्याको अस्पताल निर्माण अलपत्र

२०८३ साउन २६, ०७:१८ रासस

बाजुराः बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ। निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन।

नगरपालिकाले २०७८ कात्तिक २२ गते स्काई निशान अधिकारी जेभीसँग १८ करोड ८४ लाख ९४ हजार ८६० मा अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० भदौ २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। तोकिएको समय सकिएको लामो समय बितिसक्दा पनि हालसम्म १० प्रतिशतभन्दा कम मात्र काम भएको नगरपालिकाका प्राविधिकले बताएका छन्।

निर्माण कम्पनीलाई पटकपटक म्याद थप गरिए पनि काममा अपेक्षित प्रगति हुन सकेको छैन। कम्पनीले दुई करोड ६० लाख पेस्की र काम गरेबापत एक करोड १८ लाख गरी हालसम्म तीन करोड ७८ लाख भुक्तानी लिएको छ। तर त्यसअनुसारको भौतिक प्रगति हुन नसकेको नगरपालिकाका प्राविधिकको भनाइ छ।

अस्पताल निर्माण भइरहेको स्थान भौगोलिक रूपमा भिरालो र पहिरोको जोखिममा रहेको भन्दै स्थानीयवासीले सुरुदेखि नै विरोध गर्दै आएका थिए। अस्पताल निर्माणस्थलको माथिल्लो भागमा रहेका चार परिवारसमेत विस्थापित भएका छन्।

अस्पतालको जग खन्ने क्रममा माथिल्लो भागमा पहिरोको जोखिम बढेपछि चार परिवारलाई विस्थापित गर्नुपरेको नगरप्रमुख रामबहादुर बानियाँले बताए। उनका अनुसार अस्पताल निर्माणका लागि करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइको जग्गा आवश्यकपर्ने भए पनि छनोट गरिएको स्थान भिरालो र जोखिमपूर्ण छ।

“यो ठाउँमा अस्पताल बनाउन हुँदैन, उपयुक्त स्थान खोज्नुपर्छ” भन्ने प्रस्ताव आफू नगरप्रमुख भएपछि बसेको पहिलो कार्यपालिका बैठकमै राखेको नगरप्रमुख बानियाँले बताए। निर्माण कम्पनीलाई सहज वातावरण बनाउन नगरपालिकाले डोजर र टिपरसहित आवश्यक सहयोग उपलब्ध गराए पनि कम्पनीले नगरपालिकालाई तिर्नुपर्ने करिब रु १८ लाख अझै नतिरेको नगरप्रमुख बानियाँले बताए।

पटकपटक ताकेता गर्दै निर्माणको म्यादसमेत थप गरिएको उनले जानकारी दिए। पछिल्लो पटक ३६ लाख भुक्तानी लिएपछि निर्माण कम्पनीले २०८३ साल मङ्सिर मसान्तभित्र काम सम्पन्न गर्ने लिखित कार्ययोजना नगरपालिकालाई बुझाएको थियो। तर, रकम लिएपछि मुख्य ठेकेदार निशान कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएको नगरप्रमुख बानियाँले बताए।

स्वास्थ्यकर्मी दीपक शाहका अनुसार निर्माण कम्पनीले तीन करोडभन्दा बढी भुक्तानी लिइसके पनि अस्पताल निर्माणको अवस्था अत्यन्त कमजोर छ । भवन निर्माणको काम छिटो अघि बढाउन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि अपेक्षित प्रगति हुन नसकेको उनले बताए। बूढीगङ्गासँगै ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण सुरु भएका जिल्लाका गौमुल र जगन्नाथ गाउँपालिकाका अस्पताल भने निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। 

कमेन्ट लोड गर्नुस