सुदूर नेपाललाई विश्वसँग जोड्दै

मल नपाएपछि धनगढी–११ को वडा कार्यालयमा ताला,तीन दिन सम्म पनि खुलेन

२०८३ साउन २४, ११:४५ लक्ष्मण ढुङ्गाल

धनगढी: रासायनिक मलको अभाव भएको भन्दै किसानहरूले धनगढी उपमहानगरपालिका–११, घोड्सुवास्थित वडा कार्यालयमा गरेको तालाबन्दी तीन दिन बितिसक्दा पनि खुलेको छैन। धान खेतीका लागि आवश्यक परिमाणमा मल नपाएको भन्दै किसानहरूले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

धान रोपेको झण्डै दुई महिना पुग्न लाग्दा समेत रासायनिक मलको अभाव झेल्नुपरेको भन्दै किसानहरू आक्रोशित भएका छन्। खेतीका लागि पर्याप्त जमिन रहेको वडा भए पनि आवश्यकताको आधा पनि मल उपलब्ध हुन नसकेको किसानहरूको गुनासो छ।

किसान हरिस खड्काका अनुसार धानबालीमा आवश्यक समयमा मल हाल्न नपाउँदा उत्पादनमै असर पर्ने अवस्था आएको छ। लामो समयसम्म मलको समस्या समाधान नभएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको उनले बताए।

“धान खेती लगाएको दुई महिना पुग्न लागिसक्यो, तर अहिलेसम्म आवश्यक मल पाउन सकेका छैनौँ। पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर वडा कार्यालयमा ताला लगाएका हौँ,” खड्काले भने।
 

सहकारीमार्फत हुने मल वितरणमा पनि किसानको गुनासो

धनगढी–११ मा सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र श्री परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मार्फत रासायनिक मल वितरण हुँदै आएको छ। तर, यी दुवै सहकारीले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन प्रभावकारी भूमिका नखेलेको किसानहरूको आरोप छ।

किसानहरूले सहकारीमार्फत वितरण हुने मल आफ्ना नजिकका व्यक्तिहरूलाई मात्र उपलब्ध गराउने गरिएको आरोपसमेत लगाएका छन्। वास्तविक किसानले आवश्यकताअनुसार मल पाउन नसकेको उनीहरूको गुनासो छ।

यद्यपि, किसानहरूले लगाएका यी आरोपबारे सम्बन्धित सहकारीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

स्थानीय तहले समन्वय नगरेको आरोप

किसानहरूले धनगढी उपमहानगरपालिकाको कृषि शाखा र वडा कार्यालयले मल व्यवस्थापन तथा वितरणका विषयमा प्रभावकारी समन्वय नगरेको आरोप लगाएका छन्।
तालाबन्दी गरेको तीन दिन बित्न लाग्दासमेत स्थानीय तहबाट समस्या समाधानका लागि कुनै ठोस पहल वा प्रतिक्रिया नआएको किसान खड्काको भनाइ छ।

किसानहरूका अनुसार वडा कार्यालयले सहकारीमार्फत हुने मल वितरणलाई व्यवस्थित बनाउने, वास्तविक किसानको पहिचान गर्ने र आवश्यकताअनुसार मल उपलब्ध गराउनेतर्फ प्रभावकारी पहल गर्न सकेको छैन।
 

‘शहरी मापदण्डमा वर्गीकरण गरियो, सुविधा भने आएन’ 

धनगढी–११ का किसानहरूले आफ्नो वडालाई शहरी मापदण्डअनुसार जग्गा वर्गीकरण गरिए पनि त्यसअनुसारका आवश्यक स्रोत, साधन र सुविधा भने प्राप्त हुन नसकेको गुनासो गरेका छन्।

वडालाई राजस्व संकलनका लागि मात्र शहरी क्षेत्रमा वर्गीकरण गरिएको जस्तो देखिएको उनीहरूको आरोप छ। कृषि उत्पादनमा निर्भर किसानका लागि आवश्यक मल, सिँचाइ, कृषि सामग्री तथा अन्य

सुविधामा भने अपेक्षित पहुँच नपुगेको उनीहरूको भनाइ छ।

अन्य सुविधायुक्त वडाको तुलनामा कृषि क्षेत्रमा निर्भर किसान रहेको वडा–११ मा स्थानीय तहले विशेष प्राथमिकता दिनुपर्ने किसानहरूको माग छ।
 

तालाबन्दीका कारण सेवाग्राहीलाई पनि सास्ती
किसानहरूले मलको समस्या समाधानका लागि वडा कार्यालयमा तालाबन्दी गरेपछि नियमित प्रशासनिक सेवा लिन आउने सेवाग्राहीसमेत प्रभावित भएका छन्। वडा कार्यालयबाट प्राप्त हुने विभिन्न सेवा लिन आउने सेवाग्राही कार्यालय बन्द हुँदा समस्यामा परेका छन्।

किसानहरूले भने आफूहरूको समस्या तत्काल समाधान गरी आवश्यक परिमाणमा मल उपलब्ध गराए तालाबन्दी खोल्ने संकेत गरेका छन्।
मल अभावका कारण किसानको उत्पादन प्रभावित हुन नदिन सम्बन्धित निकायले तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने देखिएको छ।

यता, किसानहरूले गरेको तालाबन्दी र उनीहरूले लगाएका आरोपबारे धनगढी उपमहानगरपालिका–११ को वडा कार्यालयको आधिकारिक धारणा भने आउन बाँकी छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस