सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गा हालसाविक गरिदिने भन्दै १ लाख ६० हजार घुस लिने अमिनविरुद्ध मुद्दा

२०८३ साउन २२, ०२:२१ खबर संवाददाता

काठमाडौँः जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय चावहिलका अमिन टोपजङ खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली, गोकर्ण (माकलबारी) मा कार्यरत अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिनेसहितका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।

उजुरी तथा सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा १ लाख ६० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट खत्रीले आफ्नो पद तथा ओहदासँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग उक्त रकम माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

खत्रीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

अख्तियारले खत्रीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो

कमेन्ट लोड गर्नुस