छहरा झरना संरक्षणमा किरण मल्लको सक्रियता
डोटीः डोटीको जोरायल गाउँपालिका अन्तर्गत रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य छहरा झरना तथा त्यहाँ अवस्थित शिवलिङ्ग क्षेत्र लामो समयदेखि आवश्यक संरक्षण र व्यवस्थापनको अभावमा रहेको अवस्थामा समाजसेवी तथा युवा नेता किरण मल्ल व्यक्तिगत पहलसहित संरक्षण अभियानमा सक्रिय भएका छन्।
स्थानीय सरकार तथा सम्बन्धित निकायबाट धार्मिक स्थलको संरक्षण र आवश्यक पूर्वाधार निर्माणमा अपेक्षित चासो नदेखिएको भन्दै किरण मल्लले आफ्नै व्यक्तिगत लगानीमा स्थानीय युवाहरूको सहभागितासहित झरना क्षेत्रको व्यवस्थापन सुरु गरेका हुन्। यसअघि पनि उनले झरना परिसरमा अस्थायी शौचालय तथा चेन्जिङ रुम निर्माणका लागि करिब ४० हजार बराबरको सहयोग गर्दै निर्माण कार्य सम्पन्न गराएका थिए।
हाल झरनामा आउने आन्तरिक पर्यटक तथा भक्तजनको संख्या निरन्तर बढ्दै गए पनि सुरक्षित पदमार्ग, सरसफाइ, विश्रामस्थल, फोहोर व्यवस्थापन, सूचना बोर्डलगायतका आवश्यक पूर्वाधारको अभाव रहेको स्थानीयहरूको गुनासो छ। यसलाई मध्यनजर गर्दै किरण मल्लले सम्बन्धित निकायसँग झरना क्षेत्रको संरक्षण, सुरक्षा र व्यवस्थित विकासका लागि आवश्यक योजना अघि बढाउन आग्रह गरेका छन्।
स्थानीय युवाहरूले पनि छहरा झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरसफाइ, संरक्षण तथा आवश्यक संरचना निर्माणमा सक्रिय सहभागिता जनाइरहेका छन्। उनीहरूले गाउँपालिका तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वाधार निर्माण गरी यस क्षेत्रको दीर्घकालीन विकासमा सहयोग गर्न अनुरोध गरेका छन्।
स्थानीयवासीका अनुसार उचित संरक्षण र व्यवस्थित विकास गर्न सके छहरा झरना जोरायल गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भई स्थानीय रोजगारी, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
यसैबीच,मल्ल छहरा बहुमुखी क्याम्पसको सञ्चालन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। उनको नेतृत्वमा झरना क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासले थप गति लिने अपेक्षा गरिएको छ। स्थानीयवासीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै धार्मिक तथा पर्यटकीय क्षेत्रको समग्र विकासमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेका छन्।