टीकापुर बजारमा छाडा पशु नियन्त्रण अभियान तीव्र, १ सयभन्दा बढी चौपाया गौशालामा स्थानान्तरण
टीकापुरः बजार क्षेत्रका सडकमा छाडा गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेपछि टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रण अभियान सञ्चालन गरेको छ।
नगरपालिकाको पहलमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय टीकापुर र गौशालाको सहकार्यमा बजार क्षेत्रबाट करिब १ सयभन्दा बढी छाडा पशु नियन्त्रणमा लिएर गौशालासम्म पुर्याइएको हो।
सडकमा छाडा पशु बस्ने गरेका कारण सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले अभियान सञ्चालन गरेको जनाएको छ।
नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दुर्घटनामुक्त बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।