सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा साउनको १७ दिनमै ४५ जनालाई सर्पदंश, दुईको मृत्यु

२०८३ साउन १९, ११:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा साउन महिनाको १७ दिनमै सर्पदंशका ४५ घटना भएका छन्। सर्पले टोकेर दुई जनाको मृत्यु भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार साउन १ देखि १७ गतेसम्म सर्पदंशका कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो। यस अवधिमा सर्पदंशबाट प्रभावित ४५ जनामध्ये २० जना पुरुष र २४ जना महिला रहेका छन्। तथ्याङ्कमा एक जनाको लिङ्ग खुलाइएको छैन।

सर्पदंशका अधिकांश घटना कैलाली र कञ्चनपुरमा भएका छन्।

सर्पदंशका घटना बढ्न थालेपछि मन्त्रालयले सर्पले टोकेमा घरेलु उपचार तथा झारफुकमा नलागी तत्काल सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेको छ। सबै अस्पतालमा सर्पदंशको उपचार उपलब्ध नहुने भएकाले नजिकको उपचार केन्द्रबारे पूर्वजानकारी राख्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले वर्षायाममा सर्पदंशको जोखिम अत्यधिक हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताए। उनका अनुसार घरवरिपरिको सरसफाइसँगै सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारणलाई जानकारी गराउन आवश्यक छ।

वर्षायामसँगै सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका छन्। समयमै एन्टि–भेनम तथा उपचार नपाउँदा ज्यान जोखिममा पर्ने भएकाले सर्पदंश उपचार केन्द्रको विस्तार र आवश्यक जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सर्पदंशलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिएर प्रदेश सरकार तथा स्थानीय तहले रोकथाम, उपचार सेवा विस्तार र जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

कमेन्ट लोड गर्नुस