सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करोडौँको लगानीमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र ६ वर्षदेखि बन्द

२०८३ साउन १७, ०३:५४ लक्ष्मण ढुङ्गाल

धनगढीः स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम कोषको सहयोगमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित शिवपुरी धाम परिसरमा निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा नआउँदा यसको मूल उद्देश्य नै ओझेलमा परेको छ।

२०७७ सालमा निर्माण सम्पन्न भएको उक्त भवन करिब १०० जना अट्ने क्षमताको भए पनि हालसम्म नियमित रूपमा सञ्चालन हुन सकेको छैन। ज्येष्ठ नागरिकलाई भेला हुने, धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने तथा आपसी भेटघाट र मनोरञ्जनको वातावरण सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको केन्द्र लामो समयदेखि प्रयोगविहीन बनेको छ।

शिवपुरी धाम व्यवस्थापन समितिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष दानसिंह धामीका अनुसार भवन निर्माणपछि केही धार्मिक कार्यक्रम भने हुँदै आएका छन्। तर, ज्येष्ठ नागरिकलाई लक्षित नियमित कार्यक्रम र सेवा सञ्चालन हुन नसक्दा केन्द्रको उद्देश्य पूरा हुन सकेको छैन।

उनका अनुसार पछिल्ला वर्षहरूमा व्यवस्थापन पक्ष कमजोर हुनु, आर्थिक स्रोतको अभाव र आवश्यक सञ्चालन योजना नबन्दा केन्द्र नियमित रूपमा सञ्चालन हुन सकेन। भवनमा सामान्य मर्मतसम्भारसमेत आवश्यक रहेको उनले बताए।

धामीले सम्बन्धित निकाय तथा सरोकारवालासँग केन्द्र सञ्चालनका विषयमा छलफल भइरहेको जानकारी दिँदै छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए। केन्द्र सञ्चालनमा आए ज्येष्ठ नागरिकका धार्मिक, सामाजिक तथा मनोरञ्जनात्मक गतिविधि सहज हुने र उनीहरूबीचको आपसी सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे।

स्थानीयवासीले भने करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको सार्वजनिक संरचना वर्षौँसम्म प्रयोगविहीन रहनु दुःखद भएको बताएका छन्। उनीहरूले ज्येष्ठ नागरिकको हितका लागि निर्माण गरिएको भवन तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

निर्माण सम्पन्न भएको करिब ६ वर्ष बितिसक्दा पनि केन्द्र नियमित रूपमा सञ्चालनमा आउन नसक्दा व्यवस्थापन समितिको कार्यक्षमतामाथि समेत स्थानीयले प्रश्न उठाउन थालेका छन्। अब यो संरचनालाई उद्देश्यअनुसार सञ्चालनमा ल्याई ज्येष्ठ नागरिकका लागि उपयोगी बनाउनेतर्फ सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीयको माग छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस