सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएससहित चार कार्यक्रम सञ्चालनको तयारी तीव्र

२०८३ साउन १७, ०३:२३ नारायण अवस्थी

धनगढीः कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ बाट एमबीबीएससहित चार वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र पारेको छ।

विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिएको हो। विश्वविद्यालयले एमबिबिएस, बिएससी नर्सिङ, बिएससी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइसकेको छ।

विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दका अनुसार एमबिबिएसमा ५०, बिएससी नर्सिङमा ३०, बिएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० गरी कुल १२० सिटका लागि आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइएको छ।

चारवटै कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले फ्याकल्टी व्यवस्थापनको कामसमेत अघि बढाएको छ। यसअन्तर्गत ७७ जना प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक र लेक्चरर पदमा छनोट प्रक्रिया सुरु गरिएको छ।

छनोट प्रक्रियाअन्तर्गत १७ जना प्राध्यापक तथा सह–प्राध्यापकको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। बाँकी उपप्राध्यापक तथा लेक्चरर पदको अन्तिम नतिजा केही दिनभित्रै सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ।

शिक्षण अस्पतालमा ८ सय शय्या पुर्‍याउने तयारी
विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रमुख पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम पनि तीव्र गतिमा भइरहेको रजिस्ट्रार चन्दले बताए।

तीन सय शय्याको अस्पताल सञ्चालन गर्न नेपाल सरकारले २०७८ चैत १४ गते नै स्वीकृति दिएकाले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति, शय्या र उपकरण व्यवस्थापनको काम सँगसँगै अघि बढाइएको उनले जानकारी दिए।

गेटा अस्पताल विश्वविद्यालय मातहत सञ्चालन गर्ने निर्णय भएपछि अस्पतालको क्षमता थप विस्तार गर्न लागिएको छ। नेपाली सेनाको मातहतमा रहेको धनगढी होल्डिङ सेन्टरमा प्रयोगमा नरहेका पाँच सय शय्या शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको रजिस्ट्रार चन्दले बताए।

उनका अनुसार पाँच सय शय्या हस्तान्तरणका लागि शिक्षा मन्त्रालयमा पत्राचार भइसकेको छ। शिक्षा मन्त्रालयले रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाली सेनाबाट शय्या हस्तान्तरणको प्रक्रिया अघि बढाएको र यो काम अन्तिम चरणमा पुगेको उनले बताए।

पाँच सय शय्या थपिएपछि शिक्षण अस्पतालमा कुल आठ सय शय्या सञ्चालन गर्ने क्षमता पुग्नेछ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले भदौको दोस्रो वा तेस्रो साता शिक्षण अस्पतालको निरीक्षण गर्ने तयारी गरेको विश्वविद्यालयले जनाएको छ। आयोगको सुपरीवेक्षणअघि नै होल्डिङ सेन्टरमा रहेका शय्या शिक्षण अस्पताललाई हस्तान्तरण गरिसक्ने विश्वविद्यालयको तयारी छ।

आयोगको सुपरीवेक्षणअघि नै प्रस्तावित चारवटै कार्यक्रमका लागि आवश्यक फ्याकल्टी नियुक्तिसमेत पूरा गरिसक्ने विश्वविद्यालयले जनाएको छ।

फ्याकल्टी नियुक्तिसँगै पूर्वाधार विस्तार
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीका अनुसार तीन सय शय्याको शिक्षण अस्पतालका लागि विश्वविद्यालयले २०८२ चैत २५ गते नै ओएण्डएम स्वीकृत गरिसकेको छ।

शैक्षिक सत्र २०८३/८४ मै एमबिबिएससहित चारवटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार फ्याकल्टीको क्षमता विस्तारको काम अघि बढाइएको उनले बताए।

उनका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सुपरीवेक्षणअघि नै एमबिबिएससहित प्रस्तावित चारवटै कार्यक्रमका लागि आवश्यक फ्याकल्टी नियुक्त गरिसक्ने तयारी छ।

विश्वविद्यालयले अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, प्राविधिक तथा प्रशासनिक कर्मचारीको व्यवस्थापनसमेत अघि बढाएको छ।

ओएण्डएम स्वीकृत भइसकेकाले आवश्यकताअनुसार कर्मचारी पदपूर्तिका लागि शीघ्र विज्ञापन गर्ने तयारी भइरहेको रजिस्ट्रार चन्दले बताए।

उपकरण र प्रयोगशाला व्यवस्थापनमा पनि काम
एमबिबिएससहितका कार्यक्रम सञ्चालनका लागि आवश्यक आधारभूत विज्ञानतर्फका उपकरण, औजार तथा प्रयोगशाला सामग्री व्यवस्थापनको कामसमेत अघि बढाइएको छ।

रजिस्ट्रार चन्दका अनुसार आवश्यक उपकरण तथा प्रयोगशाला सामग्री खरिदका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ।

‘शैक्षिक सत्र २०८३/८४ मै एमबिबिएससहित चारवटा कार्यक्रम सञ्चालन गर्न जनशक्ति व्यवस्थापन, शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा उपकरण र प्रयोगशाला सामग्री व्यवस्थापनको काम अघि बढाएका छौँ,’ उनले भने, ‘पढाइ सुरु हुनुअघि नै बेसिक साइन्सको पूर्वाधार पूरा हुने गरी काम भइरहेको छ।’

विद्यार्थी भर्नाअघि नै फ्याकल्टी निवास, छात्रावास, पुस्तकालय तथा ई–पुस्तकालयको व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।

गेटा अस्पताल विश्वविद्यालय मातहत ल्याउने प्रक्रिया अघि बढ्यो
सरकारले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि अस्पताललाई विश्वविद्यालय मातहत ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पताल कायम गरिएको हो। अस्पताललाई विश्वविद्यालय मातहत ल्याउन स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको रजिस्ट्रार चन्दले बताए।

प्राविधिक व्यक्तिसहितको समितिले प्रतिवेदन बुझाएपछि गेटा अस्पताल विधिवत रूपमा विश्वविद्यालय मातहत आउने उनले जानकारी दिए। यो प्रक्रिया पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सुपरीवेक्षणअघि नै पूरा गर्ने तयारी छ।

स्वास्थ्य मन्त्रालयबाट गेटा अस्पतालमा खटाइएका स्थायी कर्मचारीलाई विश्वविद्यालयको पदपूर्ति नभएसम्म काम गर्न दिने विषयमा समेत मन्त्रालयलाई पत्राचार भइसकेको चन्दले बताए।

‘२०८३/८४ मै पढाइ सुरु गर्छौँ’
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले आवश्यक प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनको काम पूरा गरी शैक्षिक सत्र २०८३/८४ मै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

उनका अनुसार विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति, शिक्षण अस्पताल, उपकरण, प्रयोगशाला, छात्रावास, पुस्तकालयलगायतका पूर्वाधार व्यवस्थापनमा सम्बन्धित सबै पक्षसँग समन्वय गरी काम अघि बढाइएको छ।

‘सम्पूर्ण प्रक्रिया र पूर्वाधार व्यवस्थापनको काम पूरा गरेर शैक्षिक सत्र २०८३/८४ मै कार्यक्रम सुरु गर्ने गरी काम गरिरहेका छौँ,’ उपकुलपति जोशीले भने, ‘सबै क्षेत्र र पक्षसँगको समन्वयमा काम अगाडि बढिरहेको छ।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस