सामाजिक सद्भाव कायम राख्न मधेस सरकारद्वारा अपिल
जनकपुरधामः मधेस प्रदेश सरकारले प्रदेशवासीलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरेको छ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले आज अपिल जारी गरी पछिल्लो समय प्रदेशका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव, हिंसा तथा उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनााउँदै प्रदेशवासीलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न आग्रह गरे ।
मधेस प्रदेश विविध धर्म, संस्कृति, भाषा र समुदायको साझा पहिचान बोकेको भूमि भएकाले सामाजिक एकता र सहअस्तित्व कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै मन्त्री महतोले कुनै पनि घटना वा विवादलाई धार्मिक वा साम्प्रदायिक रङ दिएर समाजमा विभाजन सिर्जना गर्ने, अफवाह फैलाउने तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने कार्यबाट पूर्ण रूपमा टाढा रहन सबै नागरिकलाई अनुरोध गरे।
प्रदेश सरकारले शान्ति, सुरक्षा र कानुनको शासन कायम राख्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको अपिलमा उल्लेख छ। कानुनविपरीत हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने गतिविधि तथा साम्प्रदायिक द्वेष भड्काउने कार्यमा संलग्न जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि अपिलमा दिइएको छ।
यस संवेदनशील परिस्थितिमा धार्मिक अगुवा, बुद्धिजीवी, जनप्रतिनिधि, नागरिक समाज, शिक्षक, विद्यार्थी, सञ्चारमाध्यम तथा राजनीतिक दलहरूलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। सामाजिक सद्भाव कायम राख्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको अपिलमा उल्लेख छ।
मन्त्री महतोले शान्ति, सद्भाव, आपसी सम्मान र सहअस्तित्व नै मधेस प्रदेशको सभ्यता र समृद्धिको आधार भएको उल्लेख गर्दै कुनै पनि उक्साहट वा भड्काउ गतिविधिमा नलागी सम्बन्धित प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न प्रदेशवासीलाई अनुरोध गरेका छन्।