राप्रपाका कैलाली क्षेत्र नं. ४ (ख) का पूर्व सचिव विराज विष्टद्वारा पार्टीबाट राजीनामा
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलाली क्षेत्र नं. ४ (ख) का पूर्व सचिव विराज विष्टले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले बदलिँदो राजनीतिक परिस्थिति, वैचारिक प्राथमिकता र नयाँ
कार्यदिशाअनुसार पार्टी छाड्ने निर्णय गरेको बताएका हुन्। विष्टले ४ बर्ष लामो समयदेखि पार्टीमा रहेर राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनअधिकारको संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
उनले समयसँगै राजनीतिक परिवेश, वैचारिक प्राथमिकता र समाजसेवाको नयाँ यात्रालाई आत्मसात् गर्दै व्यक्तिगत निर्णयका आधारमा पार्टीबाट अलग हुने निष्कर्षमा पुगेको बताएका छन्।
विज्ञप्तिमा पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गर्दै पार्टीमा रहँदा प्राप्त सहयोग, विश्वास र अनुभव आफ्नो जीवनको अमूल्य सम्पत्ति रहने उनले बताए ।
विष्टले औपचारिक राजनीतिक सदस्यता त्यागे पनि देश, समाज र जनताको सेवाबाट पछि नहट्ने स्पष्ट पारेका छन्। राष्ट्र, राष्ट्रियता, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्थानीय समस्याको समाधानका लागि आगामी दिनमा पनि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
सत्य, निष्पक्षता, सुशासन र समाज रूपान्तरणको अभियानमा निरन्तर लागिरहने उल्लेख गर्दै विष्टले जनताको सेवा नै आफ्नो मुख्य उद्देश्य रहने बताएका छन्।हाल उनले आफू हाललाई कुनै राजनीतिक पार्टीमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे ।