सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायद्वारा संयुक्त सरसफाइ

२०८३ साउन १२, ०३:२१ खबर संवाददाता

धनगढीः भारत–नेपाल सीमास्थित गौरीफन्टा चेकपोस्टमा मंगलबार भारतको सशस्त्र सीमा बल र नेपालको सशस्त्र प्रहरी बलले संयुक्त रूपमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन्।

बिहान ७:३० बजेदेखि सुरु भएको उक्त अभियान गौरीफन्टा चेकपोस्टमा सम्पन्न भएको हो। अभियानको मुख्य उद्देश्य सीमा क्षेत्रलाई स्वच्छ, सफा र सुन्दर बनाउनुका साथै दुवै देशका सुरक्षा निकायबीच आपसी सद्भाव, समन्वय र सहकार्यलाई अझ मजबुत बनाउनु रहेको बताइएको छ।

भारतीय पक्षबाट सशस्त्र सीमा बलका निरीक्षक अरुण कुमारको नेतृत्वमा १५ जना सुरक्षाकर्मी सहभागी भएका थिए। त्यसैगरी नेपाली पक्षबाट सशस्त्र प्रहरी बलको ३४ नम्बर गण, त्रिनगर पोस्टका निरीक्षक सूर्यप्रकाश पन्तको नेतृत्वमा २७ जना सुरक्षाकर्मी अभियानमा सहभागी भएका थिए।

संयुक्त टोलीले सीमा क्षेत्र तथा चेकपोस्ट वरपर रहेका फोहोरमैला सफा गर्नुका साथै स्थानीयवासीलाई पनि सरसफाइ कायम राख्न आग्रह गरेको थियो।

अभियानका क्रममा दुवै देशका सुरक्षा अधिकारीहरूले यस्ता संयुक्त कार्यक्रमले सीमा क्षेत्रलाई स्वच्छ राख्नुका साथै नेपाल–भारतबीचको मित्रता, आपसी विश्वास र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस