उपकुलपति प्राध्यापक डा.सुनिलकुमार जोशीले अघिल्लो कार्यकालको पहिलो सय दिनमा के-के काम गरे?
धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले २०८२ पुस २३ गते पदभार ग्रहण गरेपछि पहिलो एक सय दिनमा आधारभूत तर उल्लेखनीय उपलब्धि तथा प्रगति भएको बताएका छन्। उपकुलपतिले त्यतिबेलै सार्वजनिक प्रतिवेदनअनुसार विश्वविद्यालयले नेतृत्व स्थापना, शैक्षिक कार्यक्रम सञ्चालनको तयारी, संस्थागत संरचना निर्माण, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार तथा वित्तीय व्यवस्थापनलगायत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाइएको छ।
प्रतिवेदनअनुसार उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रार डाक्टर खेमराज जोशीको नियुक्ति तथा शपथग्रहणसँगै विश्वविद्यालयको नेतृत्व स्थापना भएको थियो। यस अवधिमा विश्वविद्यालयको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइनुका साथै परिसर सरसफाइ, प्रशासनिक भवन तथा आवास व्यवस्थापन र पूर्वाधार सुधारका कार्य अघि बढाइएको उल्लेख गरिएको छ।
शैक्षिक कार्यक्रम सञ्चालनको तयारीअन्तर्गत पाठ्यक्रम निर्माणका लागि मस्यौदा समिति गठन गरी एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, ब्याचलर अफ फिजियोथेरापी, बी. फार्मेसी, बिपिएच तथा बी. अप्टोमेट्री कार्यक्रमको पाठ्यक्रम मस्यौदा तयार गरिएको छ। आर्थिक वर्ष २०८३/८४ देखि एमबिबिएसमा ५०, नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी. अप्टोमेट्रीमा २० विद्यार्थी भर्ना गर्ने प्रारम्भिक योजना पनि सार्वजनिक गरिएको थियो भने चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम समेत पेश गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले संस्थागत तथा नीतिगत विकासतर्फ शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, खरिद नियमावली, अनुसन्धान केन्द्र नियमावली, विषय समिति नियमावलीलगायत विभिन्न नियमावलीको मस्यौदा तयार गरेको छ। विश्वविद्यालयको सांगठनिक संरचना, झण्डा र छापको मस्यौदा तयार गर्नुका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण र नियमावलीसम्बन्धी कार्यशाला पनि आयोजना गरिएको प्रतिवेदनमा उल्लेख छ।
पहिलो कार्यकालमा ११७ दिन काम गरेका उपकुलपति प्राध्यापक जोशी र रजिस्ट्रार डाक्टर खेमराज जोशीले तयार गरेको ओएण्डएम प्रतिवेदन २०८२ चैत २५ मा बसेको सिनेटबाट पारित भएको थियो।
मानव स्रोत व्यवस्थापनतर्फ निर्वाचन आयोगको अनुमति प्राप्त गरी ७७ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन प्रकाशित गरिएको थियो भने करार शिक्षक छनोट कार्यविधि पनि पहिलो एक सय दिनभित्रै निर्माण गरिएको हो।
प्रशासनिक तथा वित्तीय व्यवस्थापनअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमा रहेको गेटा मेडिकल कलेजको बजेट विश्वविद्यालयमा हस्तान्तरणका लागि पहल गरिएको, सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया अघि बढाइएको र चालु आर्थिक वर्षका लागि दुई अर्ब ५३ करोड रुपैयाँको बजेट प्रस्ताव तयार गरी पेश गरिएको थियो। गत आर्थिक वर्ष २०८२/८३ मा शिक्षकहरूको तलबका लागि पाँच करोड रुपैयाँभन्दा बढी बजेट अर्थ मन्त्रालयबाट विनियोजन गरिएको थियो।
गेटा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी लक्षित कार्यक्रम अन्तर्गत ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने पहल गरिएको र त्यसका लागि ७ करोड ३९ लाख रुपैयाँ सुनिश्चित गरिएको उपकुलपति जोशीले बताए। उनले पहिलो सय दिनभित्रै विश्वविद्यालय सभाको चौथो बैठक गेटामै सम्पन्न गरी संस्थागत निर्णय प्रक्रियालाई अगाडि बढाइएको बताए।
विश्वविद्यालय ऐन, २०८२ बमोजिम विश्वविद्यालयको औपचारिक सञ्चालन, सभा, कार्यकारी परिषद् तथा विभिन्न समितिहरू गठन गर्ने कार्य पनि एक सय दिनभित्रै भएको थियो।
स्वास्थ्य सेवा विस्तारतर्फ गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताललाई तीन शय्यामा स्तरोन्नति गर्ने, स्कसल अफ हेल्थ साइन्सेज अन्तर्गतका आधारभूत विज्ञान विभागहरूको प्रयोगशाला स्थापना गर्ने, सेटेलाइट हेल्थ सेन्टर गर्ने तथा टेलिमेडिसिन र क्याथ ल्याब सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको थियो।
वित्तीय व्यवस्थापनतर्फ गत आर्थिक वर्ष २०८२/८३ मा ४९ करोड १३ लाख रुपैयाँ बजेट रहेको र चालु आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको उपकुलपति जोशीले जानकारी दिए। यस्तै, विभिन्न स्रोतबाट आय सुनिश्चित गर्ने पहलसमेत पहिलो एक सय दिनमा भएको उनले बताए।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा सरकारी अस्पतालहरूसँग सहकार्य विस्तार गर्ने प्रक्रिया पनि एक सय दिन भित्रै भएको थियो।
विश्वविद्यालयले पहिलो सय दिनमा नेतृत्व स्थापना, शैक्षिक कार्यक्रम सञ्चालनको आधार निर्माण, नियमावली तर्जुमा, जनशक्ति व्यवस्थापन, बजेट सुनिश्चितता, पूर्वाधार सुधार तथा स्वास्थ्य सेवा विस्तारका क्षेत्रमा आधारभूत तर महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा पठनपाठन सञ्चालन, पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी प्रशासनिक प्रणाली विकासलाई प्राथमिकताका साथ अघि बढाइने उपकुलपति जोशीले बताए।