कञ्चनपुरमा अवैध सिसमको काठसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले अवैध रुपमा राखिएको सिसमको काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्काकंकडबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास नगरपालिका–९ धनसिडा बस्ने ३९ वर्षीय ऐन बहादुर शाहीलाई पक्राउ गरेको हो। शाहीको टहराबाट अवैध रूपमा राखिएको २५ हजार बराबरको १७.५५ क्युफिट सिसमको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले काठ र नियन्त्रणमा लिइएका शाहीलाई आवश्यक कानूनी कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडिया परासन, कञ्चनपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए।