सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीको कटानले टीकापुर पार्क लगायत बस्तीहरू जोखिममा

टीकापुर नगरपालिका–५, भैरवनाथ वननजिक कर्णाली नदीले कटान गरेको क्षेत्र । तस्बिर : एकिन्द्र तिमिल्सेना (गाेरखमपत्र)
टीकापुर नगरपालिका–५, भैरवनाथ वननजिक कर्णाली नदीले कटान गरेको क्षेत्र । तस्बिर : एकिन्द्र तिमिल्सेना (गाेरखमपत्र)
२०८३ साउन १०, ०५:४२ खबर संवाददाता

टीकापुरः कर्णाली नदीको कटानले टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्क, भैरवनाथ सामुदायिक वन र त्यसभन्दा दक्षिणका बस्ती जोखिममा परेका छन् । 

भैरवनाथ मन्दिरभन्दा उत्तरपट्टि कर्णाली नदीको बाढी पूर्वबाट पश्चिमतिर सोझिएर करिब पाँच सय मिटर तटबन्ध भत्काइसकेको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट बनाइएका तारजाली बगाइसकेको छ । तारजाली बगेपछि तारजालीभन्दा माथि थुपारिएका ठुला ढुङ्गा (बोल्डर) हरू पानीमुनि दबेका छन् । 

बाढीले गिट्टी र बालुवाले बनाएको किनार भत्काउँदा त्यहाँका रुख ढलेका छन् । नदी भैरवनाथ वन, टीकापुर पार्क हुँदै दक्षिणमा रहेका टीकापुर नगरपालिका–५, ६, ७ र ८ का बस्तीमा पस्ने जोखिम बढेको टीकापुर पार्कका इन्चार्ज अर्जुनबहादुर कुँवरको भनाइ छ । नदीकिनारमा भेटिएका स्थानीय ७४ वर्षका सोहनलाल थारूले १० वर्षअघि तीन सय मिटर पूर्वतिर रहेको कर्णाली यसपालि यतै फर्किएको बताए। उनका अनुसार तटबन्ध भत्किएको छ र यहाँ ल्याइएका बोल्डरहरू पनि कटान भएको ठाउँमा हालेका छैनन् । यस पटक बगाउने हो कि भन्नने चिन्ता बढेको छ। 

कर्णाली नदीको पूर्वतिर ढुङ्गा, गिट्टी थुप्रिएर टापु बनिरहेकाले गत वर्ष नै हटाउनुपर्ने भनी नगरपालिका, जिल्ला प्रशासन, प्रदेश र सङ्घका प्रतिनिधिले स्थलगत भ्रमण गरेका थिए। टीकापुर नगरपालिकाका वन वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीका अनुसार उतिबेला नै जोखिमयुक्त ठाउँमा बोल्डर खसाल्ने भनिएको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारसम्म कर्णाली नदीको जलस्तर ६.८४ मिटर मात्रै पुगेको छ । विगतका वर्षको तथ्याङ्क हेर्दा साढे नौ मिटरसम्म पुग्ने गरेको देखिन्छ 

कहिलेकाहीँ खतराको तह १०.८ मिटर पार गर्ने गरेको छ । तत्काल व्यवस्था नगरिए आठ मिटर पुगेको पानीले पनि तटबन्ध भत्काउन सक्ने टीकापुर नगर प्रहरीका प्रमुख पहलबहादुर शाहले बताए। प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले स्थानीय तह, प्रतिनिधि सभाका सदस्य र रानीजमराका अधिकारीलाई जोखिमबारे जानकारी गराएको बताएका छन्। उनले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लापर्बाहीका कारण काम नहुँदा जोखिम निम्तिन लागेकाले यसको जिम्मा आयोजनाले लिनुपर्ने बताए।  

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार रानीजमरा कुलरिया सिँचाइ आयोजनाले २०८३ चैतमा लगाएको ठेक्कामा ठेकेदारले काम नगरेपछि अर्को ठेक्का खोलिएको छ । उसले पनि लम्कीचुहाबाट ल्याउनुपर्ने बोल्डर ल्याउन नपाएकाले काम अघि बढ्न सकेको छैन ।  
 

कमेन्ट लोड गर्नुस