डोटीका दुई प्रहरी चौकीको अनुगमन, प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी बोहराद्वारा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
डोटी : डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जिल्लाका दुई प्रहरी चौकीको संयुक्त रूपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
(साउन ९ गते) सुरक्षा निकायहरूको निरीक्षण गर्ने क्रममा बडीकेदार गाउँपालिका–२ स्थित प्रहरी चौकी खड्यौली र वडा नम्बर ३ स्थित प्रहरी चौकी घाघलको स्थलगत अनुगमन गरिएको हो।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरे र प्रहरी उपरीक्षक बोहराले प्रहरी चौकीको सेवा प्रवाह, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन तथा कार्यालयको समग्र अवस्थाबारे जानकारी लिएका थिए।
निरीक्षणपछि दुवैले सम्बन्धित प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा थप प्रभावकारी बनाउन, नागरिकमैत्री सेवा प्रवाहमा जोड दिन, अनुशासित ढंगले जिम्मेवारी निर्वाह गर्न तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै कार्य गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाभित्रका सुरक्षा युनिटहरूको नियमित अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिँदै सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ।