मिसेस नेपाल वल्र्डको तयारी
काठमाडौँः रिबन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल वल्र्ड–२०२६ का लागि आवेदन खुला गरेको छ।
ललितपुरस्थित दी स्क्वायर होटेलमा आयोजित पत्रकार सम्मेलनमार्फत मिसेस नेपाल वल्र्ड–२०२६ को औपचारिक घोषणा गरिएको हो। पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौँमा हुने तथा ग्रान्डफिनाले कात्तिक १४ गते आयोजना गरिने आयोजकले जनाएको छ।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले प्रतियोगितालाई यस वर्ष अन्तर्राष्ट्रियस्तर अनुरूप थप भव्य रूपमा आयोजना गरिने जानकारी दिए। एसइई/एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा अविवाहित महिलाले उचाइ र तौलको कुनै मापदण्डबिनै प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्।
प्रतियोगिताका विजेताले अमेरिकामा हुने मिसेस वल्र्ड तथा म्यानमारमा आयोजना हुने मिसेस कोस्मो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन्। छनोट भएका प्रतियोगीलाई ४५ दिने व्यक्तित्व विकास तथा ग्रुमिङ प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।