कञ्चनपुरमा एक वर्षमा ६ करोडभन्दा बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा एक वर्षको अवधिमा ६ करोड रुपियाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा जिल्लास्थित खुला नाका प्रयोग गरी अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ करोड १५ लाख ३८ हजार ६१७ रुपियाँ बराबरका सामान बरामद गरिएको हो।
वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले भन्सार छलीका सामान बरामद गर्ने क्रममा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिए।
प्रहरीले गत आर्थिक वर्षमा भारततर्फ बेचबिखनका लागि लैजान लागिएका ४४८ महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको जनाएको छ। प्रहरी उपरीक्षक गिरीका अनुसार उक्त अवधिमा २४९ महिला हराएकोमा २४८ जनालाई सकुशल फेला पारिएको छ।
त्यस्तै, बेपत्ता भएका ६७ बालक, १४४ बालिका र २६ ज्येष्ठ नागरिकलाई पनि सुरक्षित रूपमा फेला पारी परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार पुनम विक र चन्टु चौधरी अझै फेला परेका छैनन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक गिरीले गत आर्थिक वर्षमा अवैध हातहतियारतर्फ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। जिल्लामा शान्ति सुरक्षा कायम तथा अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ।
यसैगरी, जिल्ला प्रहरीले गत आर्थिक वर्षमा दुई हजार ५७२ लिटर अवैध मदिरा तथा मदिरा बनाउन प्रयोग हुने ४१९ लिटर कच्चा पदार्थ बरामद गरेको जनाएको छ। बरामद गरिएको दुई लाख ५७ हजार २०० रुपियाँ बराबरको अवैध मदिरा नष्ट गरिएको प्रहरी उपरीक्षक गिरीले बताए।
जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका ३५८ घरेलु हिंसाका घटनामध्ये २९९ वटा मिलापत्रबाट टुङ्ग्याइएको र बाँकी मुद्दा अदालत पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ। गत आर्थिक वर्षमा विपद्मा परेका ५६ जनाको उद्धार गरिएको थियो। जङ्गली जनावरको आक्रमण, सर्पदंश, करेन्ट लागेर, आगलागी तथा पानीमा डुबेर वा बगेर भएका ३३६ घटनामा १५६ जना घाइते भएका थिए भने ३१ जनाको मृत्यु भएको थियो।
विपद्का कारण जिल्लामा एक वर्षको अवधिमा तीन करोड ३३ लाख ६४ हजार १०० रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। उद्धार कार्यका लागि दुई हजार १३४ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
प्रहरी उपरीक्षक गिरीका अनुसार जिल्लामा एक जना प्रहरीले औसत ६८२ नागरिकको सुरक्षाको जिम्मेवारी लिनुपर्ने अवस्था रहेकाले विभिन्न घटनामा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक वर्षमा ज्यानसम्बन्धी १११, आत्महत्या १३८, चोरी ८३, सङ्गठित तथा आर्थिक अपराध ४०२, सामाजिक अपराध १७९, महिला तथा बालबालिकासम्बन्धी अपराध ८४, सवारी ज्यान ३१ र अन्य ६३ गरी कुल एक हजार ९१ वटा मुद्दा दर्ता भएका छन्।
त्यस्तै, जघन्य अपराधतर्फ २३३ वटा मुद्दा दर्ता भएका छन्। चालु मुद्दामा एक हजार १६६ जना पक्राउ परेका छन् भने २२६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।