कञ्चनपुरमा खैरोहेरोइनसहित दुई युवक पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले १ ग्राम ५९० मिलिग्राम खैरोहेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार साउन ६ गते राति करिब ९ बजे इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ निवासी २४ वर्षीय राकेश राना र बेलौरी नगरपालिका–९, अण्डैया निवासी २५ वर्षीय गुड्डु राना रहेका छन्।
प्रहरीका अनुसार बेलौरी नगरपालिका–१० स्थित सडकघाट सडकखण्डमा म.१ प ५१०५ नम्बरको डिस्कभर मोटरसाइकलमा शंकास्पद रूपमा आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा १ ग्राम ५९० मिलिग्राम खैरोहेरोइन बरामद भएको हो।
लागूऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।