डाक्टर केसी आज ३ बजेदेखि धनगढीमा अनशन बस्दै, सर्वसाधारणको बिरोध सुरू
धनगढीः डाक्टर गोविन्द केसीले फेरि अनशन बस्ने भएका छन्। केसीले आज बिहिवारबाट अनशन बस्ने तयारी थालेका छन्। अनशन बस्ने भनेर बुधवार धनगढी पुगेका केसीले आज दिउँसो ३ बजेबाट अनशन बस्ने तय भएको छ। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीका अनुसार केसीले धनगढी-१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्ने छन्। आजै पत्रकार सम्मेलन गरेर अनशन बस्ने बारे जानकारी गराइने भएको छ।
चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बस्दै आएका डाक्टर केसीले गर्न लागेको यो पटकको अनशनप्रति सुदूरपश्चिममा भने विरोध हुन थालेको छ। सर्वसाधारणले डाक्टर केसीको आन्दोलन गलत भएको टिप्पणी गरेका छन्।
सरकारले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न लागेको समयमा डाक्टर केसीले अनशन बस्न लागेको र गेटामा विश्वविद्यालय सञ्चालन गर्न नहुने मनसाय राखिएको भन्दै सुदूरपश्चिममा केसीको अनशनप्रति तीव्र टिप्पणी हुन थालेको हो। सामाजिक सञ्जालमा केसीलाई धनगढीमा अनशन बस्न नदिनुपर्ने माग उठ्न थालेको हो।
डाक्टर केसीले गेटामा माफिया र तिनका मतियारहरूको स्वार्थपूर्ति गर्न हतार-हतार शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन जबरजस्ती थोपरिएको आरोप लगाएका छन्। उनले मेडिकल विश्वविद्यालय खोल्ने नै भए त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान या बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
सुदूरपश्चिममा राज्यले अहिलेसम्म चिकित्सा शिक्षामा लगानी नगरेको अवस्थामा गेटामा मेडिकल शिक्षाको अध्ययनको वातावरण बनिरहेका बेला डाक्टर केसीले हाल नियुक्त पदाधिकारीकै राजीनामा मागेका छन्। डाक्टर केसीले चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटक-पटक अनशन बस्नुको कारणमाथि समेत सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्।
डाक्टर केसीले बस्न लागेको अनशन सुदूरपश्चिमका लागि घातक रहेको टिप्पणी गरिएको छ। फेसबुक प्रयोगकर्ता हिक्मत मल्ले डाक्टर केसीको अनशन सुदूरपश्चिमका लागि घातक रहेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, 'गेटा मेडिकल कलेजमा पठनपाठन गर्न दिनु हुँदैन भन्ने मुख्य उद्देश्य हो। यिलाई सुदूरपश्चिमबाट लखेट्नु पर्छ।'
यस्तै, प्रेम भाटले डाक्टर केसीले गेटा विश्वविद्यालयको बिरोध गर्न खोजेको भन्दै असन्तुष्टि पोखेका छन्। डम्मरा थापा रावल, माधव पन्त, नृप विष्ट, हरिवोधन जोशीलगायतले पनि डाक्टर केसीको अनशन गलत भएको टिप्पणी गरेका छन्।
डाक्टर केसीको अनशनलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीको ओइरो लागेको छ। युवादेखि जेष्ठ नागरिकसम्मले डाक्टर केसीको अनशन गलत भएको टिप्पणी गरेका छन्। धनगढीका गड्सेरी माइलाले केसीलाई 'डाक्टर अनशन केसी' भनेर व्यङ्ग्य कसेका छन्। उनले 'गेटा मेडिकल विश्वविद्यालयको काममा भाँजो हाल्ने दुश्प्रयत्न सह्य छैन' भनेर चेतावनी दिएका छन्।