सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा वृहत् सरसफाइ अभियान, चार हजारभन्दा बढीको सहभागिता

२०८३ साउन ६, १०:४२ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शनिबार वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।

विश्वविद्यालयलाई स्वच्छ, व्यवस्थित र चिकित्सा शिक्षाका लागि उपयुक्त वातावरण बनाउन आयोजित अभियानमा करिब चार हजार जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन भएको कार्यक्रममा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीको नेतृत्व रहेको थियो। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्द, प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द, विश्वविद्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासी सहभागी भएका थिए।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीअन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले पनि सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीले विश्वविद्यालयमा चिकित्सा शिक्षाको अध्यापन सुरु हुने तयारीसँगै सरसफाइ, अनुशासन र व्यवस्थित वातावरणलाई प्राथमिकतामा राखिएको बताए। उनले सुदूरपश्चिमको स्वास्थ्य र शैक्षिक विकासमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सेवाग्राहीमैत्री र सुविधासम्पन्न चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाए।

उनले विश्वविद्यालयजस्तो राष्ट्रिय महत्वको संस्थाको संरक्षण र विकासमा सबै नागरिकले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता पनि औँल्याए।सरसफाइ अभियानका क्रममा विश्वविद्यालय परिसरका विभिन्न स्थानमा रहेको फोहोर संकलन, झारपात व्यवस्थापन तथा वातावरण सफा गर्ने कार्य गरिएको थियो। सहभागीहरूले स्वच्छ वातावरण कायम गर्नु सबैको साझा दायित्व भएको सन्देशसमेत दिएका थिए।आयोजकका अनुसार यस्ता अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण र सरसफाइप्रति नागरिकमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस