सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक लाख रुपैयाँ लुटेको रिसमा धनगढीकी निशाको हत्या भएको खुलासा

२०८३ साउन ६, ०७:३३ खबर संवाददाता

काठमाडौँः एक लाख रुपैयाँ लुटिएको रिस साँध्न दैलेखका एक पुरुषले धनगढीकी २५ वर्षीया युवतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। हत्या गरेपछि शव होटलको पलङमुनि लुकाइएको अवस्थामा तीन दिनपछि मात्रै प्रहरीले फेला पारेको हो।

प्रहरीका अनुसार दैलेखका रमेश बुढा कास्कीमा व्यापार गर्दै आएका थिए। गत असार ३१ गते घर जाने क्रममा उनी एक लाख रुपैयाँ बोकेर काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क पुगेका थिए। त्यही क्रममा उनको भेट धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारसँग भएको थियो।

निशासँगै उनी गोंगबुस्थित होटल माउन्टेन एल्सिभामा पुगेका थिए। होटलको कोठा भने जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई हाल बाँके बस्ने दानबहादुर शाहीको नाममा बुक गरिएको थियो।

होटल पुगेपछि निशाले ‘तपाईंको पसिना धेरै गन्हायो, नुहाएर आउनुस्’ भन्दै बुढालाई बाथरूम पठाएकी थिइन्। बुढा नुहाउन गएको मौका छोपी निशाले उनको खल्तीमा रहेको एक लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

भोलिपल्ट असार ३२ गते बुढाले नयाँ बसपार्क क्षेत्रमा खोजी गर्दा निशा फेरि भेटिइन्। यसपटक उनले निशाले नचिन्ने गरी मुखमा मास्क लगाएर ‘होटल जाने हो?’ भन्दै प्रस्ताव राखे। निशाले स्वीकार गरेपछि उनीहरूले पहिल्यै बुक गरिएको कोठामा प्रवेश गरे।

कोठाभित्र पुगेपछि बुढाले मास्क हटाउँदा आफूले अघिल्लो दिन पैसा लिएर भागेको युवमसँगै होटल आएको निशाले थाहा पाइन्। त्यसपछि उनले बियरको बोतलले बुढामाथि प्रहार गरेकी थिइन्। त्यसपछि आक्रोशित बनेका बुढाले बोतल खोसेर निशाको टाउकोमा प्रहार गरे। उनी भुइँमा ढलेपछि बेल्टले घाँटी कसी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि बुढाले शव पलङमुनि लुकाएर होटलबाट निस्किएका थिए। घटनापछि त्यही कोठामा दानबहादुर शाही र उनका साथीहरूले दुई रात मदिरा सेवन गर्दै बसे पनि शव रहेको थाहा पाएका थिएनन्।

साउन ३ गते बिहान होटलको कोठाबाट दुर्गन्ध आएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरीले पलङमुनि लुकाइएको अवस्थामा निशाको शव फेला पारेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार होटलको रजिस्टर र सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएको थियो। कोठा दानबहादुर शाहीको नाममा बुक भएको र फुटेजमा शाही, बुढा तथा निशा सँगै देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि अनुसन्धानका क्रममा हत्या एक लाख रुपैयाँ लुटिएको रिसका कारण भएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निशा सुनारलाई यसअघि पनि अवाञ्छित गतिविधिमा संलग्न रहेको भन्दै प्रहरी वृत्त बालाजुले पटक–पटक सम्झाइबुझाइ गरेको थियो।

कमेन्ट लोड गर्नुस